डोटीको बोेगटान फुड्सिल पालिका स्तरीय बृहत् खेलमैदान निर्माण कार्य सुरु

डोटीः डोटीको बोेगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा पालिका स्तरीय बृहत् खेलमैदानको निर्माण कार्य सुरु गरिएको छ।
गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले शनिवार मैदान निर्माणको शुभारम्भ गरेका छन्।

गाउँपालिकाले निर्माण गर्न लागेको यो खेलमैदानलाई निर्वाचन क्षेत्रको सबैभन्दा ठुलो मैदान बनाउने लक्ष्य राखिएको छ। यो खेल मैदानको कुल लागत २४ लाख रुपैयाँ रहने जनाइएको छ। अध्यक्ष गड्सिलाले स्थानीय युवा तथा खेल प्रेमीहरूका लागि उपयुक्त पूर्वाधार निर्माण गर्ने उद्देश्यले खेलमैदानको योजना अघि बढाइएको बताए। उनले खेलकुद क्षेत्रको विकासमार्फत युवाहरूलाई सकारात्मक दिशातर्फ लैजान सकिने विश्वास व्यक्त गरेका छन्।

स्थानीय वासीहरूमा मैदान निर्माणको खबरले खुसियाली छाएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस कदमले गाउँमा खेलकुद गतिविधि बढ्नेसँगै स्थानीय प्रतिभाहरूको प्रोत्साहन हुने जनाएका छन्।
