सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरिया रिटर्नीहरूको अभिमुखीकरण सम्पन्न

२०८२ जेठ १८, १२:०२ खबर संवाददाता

धनगढी: कोरियाबाट फर्किएका रिटर्नीहरूको अभिमुखीकरण कार्यक्रम गरिएको छ। शनिवार धनगढीमा कोरिया रिटर्नीहरूको अभिमुखीकरण सम्पन्न भएको हो।

कोरियाबाट फर्किएका रिटर्नीहरूको स्थिर पुन: एकीकरणका लागि चरणबद्ध सहायता प्रणाली सुदृढिकरण परियोजना अन्तर्गत अभिमुखीकरण गरिएको हो। कोरियन अन्तर्राष्ट्रिय सहयोग (कोइका) अन्तर्गत रहेको "के-हामी" परियोजनाको प्रायोजन तथा अंकुर नेपालको सहकार्यमा कार्यक्रम गरिएको हो।

कार्यक्रममा कोरियाबाट फर्किएका करिब १३० जना रिटर्नीहरूको सहभागिता रहेको थियो।

कोरियाबाट फर्किएका मध्ये केहीले किसिमको पेशा व्यवसाय अपनाएर स्वरोजगार बनेको र बाँकीलाई कसरी स्वरोजगार बनाउन सकिन्छ भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको अंकुर नेपालका सुदूरपश्चिम संयोजक गोपाल भट्टले बताए। उनले कोरियाबाट फर्किएका रिटर्नीहरूको अनुभव आदानप्रदान गर्न कार्यक्रम गरिएको बताए।

अंकुर नेपालका सुदूरपश्चिम संयोजक गोपाल भट्टको सभापतित्वमा भएको कार्यक्रममा "के-हामी" परियोजनाका प्रमुख सङ् एल स रहेका थिए। कार्यक्रममा अंकुर नेपालका केन्द्रीय अध्यक्ष लालप्रसाद भट्टराई तथा मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख राजनीतिक सल्लाहकार डाक्टर जितु उपाध्यायले कोरिया बस्दाको अनुभव सुनाउनुको साथै कोरियाबाट फर्किएकाहरूलाई गर्न सकिने सहयोगका बारेमा चर्चा गरेका थिए।

कार्यक्रममा कोरियाबाट आर्जन गरेको सिप र पुँजीको परिचालन गरी उद्यमशीलता प्रवर्द्धन गर्ने विषयमा विमर्श गरिएको थियो।

कार्यक्रममा कोरियाबाट पाँच वर्ष अगाडि स्वदेश  फर्किएर व्यवसाय गरिरहेका धर्मराज जोशीले व्यवसाय गर्न इच्छाशक्ति हुनुपर्ने र त्यसपछि व्यवसायलाई निरन्तरता दिनसके नेपालमा व्यवसाय गर्न अवसर नै अवसर रहेको बताए। उनले आफूले गर्ने व्यवसायमा स्पष्ट भएर मात्रै हात हाल्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै डाक्टर जितु उपाध्यायले उद्यमशीलता नै आर्थिक विकासको प्रमुख आधार रहेको बताए। उनले कोरिया गएको व्यक्तिहरू फर्केर एकताबद्ध भएकोमा खुसी व्यक्त गर्दै उद्यमशीलतालाई अगाडि बढाउन आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

यस्तै, कोरियाबाट फर्किएका कञ्चनपुरका सफल व्यवसायी हेमन्तराज जोशीले कोरियाको बसाइ तथा नेपाल फर्केर गरिरहेको व्यवसायको बारेमा चर्चा गरेका थिए। कार्यक्रमको सञ्चालन अंकुर नेपालका सुदूरपश्चिम प्रदेश कार्यसमिति सचिव लोकेन्द्रसिंह भण्डारीले गरेका थिए भने व्यवसाय सञ्चालन बारे  उद्यम विकास परामर्शदाता भिमबहादुर विष्टले प्रस्तुति देखाएका थिए।

कमेन्ट लोड गर्नुस