सुदूर नेपाललाई विश्वसँग जोड्दै

यु–१६ सुदूरपश्चिम छनोटः कैलाली र कञ्चनपुर विजयी

२०८२ जेठ १२, ०७:३६ खबर संवाददाता

बैतडीः एसिसी मेन्स यु–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनोट अन्र्तगत समूह ‘बी’ का आज भएका  खेलमा कैलाली र कञ्चनपुर विजयी भएका छन्।     

पहिलो खेलमा कैलालीले अछाममाथि ७१ रनको जित निकाल्यो। जितका लागि पाएको ११९ रनको लक्ष्य पछ्याएको अछामले १२ दशमलब ५ ओभरमा ४७ रन मात्र बनायो। उसका लागि अनिल रावतले सर्वाधिक १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। कैलालीका सुबोध तिवारी र रुद्रप्रसाद आचार्यले तीन तीन विकेट लिए।

सुबोध प्लेयर अफ दी म्याच समेत चुनिए। यसअघि पहिला ब्याटिङ गरेको कैलालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतमिा ११८ रन बनायो। उसका लागि ब्रिजेश चौधरीले २६ र अविरल विकले २५ रन बनाए । बलिङतर्फ रविन भण्डारीले ३ विकेट लिए।

आजै सम्पन्न अर्को खेलमा कञ्चनपुरले दार्चुलालाई १११ रनले हरायो। कञ्चनपुरले दिएको १७० रनको विजय लक्ष्य पछ्याएको दार्चुला १५ दशमलब ४ ओभरमा ५८ रनमा अलआउट भयो। उसका लागि विकास कुँवरले १४ र निश्चल अवस्थीले १३ रन बनाए।

बलिङतर्फ कञ्चनपुरका मनिष चन्दले ४ र निरज सिंह कार्कीले ३ विकेट लिए। त्यसअघि पहिला ब्याटिङ गर्दै कञ्चनपुरले आयुष चन्दको ३८ रनको मद्दतमा २० ओभरमा १६९ रन बनायो। बलिङतर्फ दार्चुलाका निश्चल अवस्थी र लवराज जोशीले दुई दुई विकेट लिए। सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना यही जेठ ८ गतेदेखि सुरु भएको प्रतियोगितामा सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहेको छ। 

कमेन्ट लोड गर्नुस