जनताले रोजगारी र सुशासन चाहेका छन्ः महासचिव भुसाल

डडेल्धुराः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले जनताले रोजगारी र सुशासन चाहेको बताएका छन्। समाजवादी प्रेस सङ्गठन डडेल्धुद्वारा शनिवार आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली जनताको प्रमुख आवश्यकता सुशासन र रोजगारी रहेको बताएका हुन्।
महासचिव भुसालले मुलुकको समसामयिक राजनीतिक अवस्था र सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै जनताले देखिनेगरी परिवर्तनको अनुभूति गर्न नपाएको धारणा राखे। 'जनताको चासो सत्ता र सत्ताको भागबन्डामा होइन, रोजगार र न्यायमा छ', उनले भने, 'राजनीति जनमुखी हुनुपर्छ, जनताको आवश्यकता र आकाङ्क्षालाई केन्द्रमा राखेर काम गर्नुपर्छ तर त्यसो हुनसकेको छैन।'

महासचिव भुसालले रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिँदै सरकारलाई नीतिगत सुधार र कार्यान्वयनमा ध्यान दिन आग्रहसमेत गरे। उनले देशमा देखिएको राजनीतिक अस्थिरता र कुशासनले आमजनताको जीवन प्रभावित बनाएको भन्दै यसबाट बाहिर निस्कन सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
