सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे सुरक्षा निकायका प्रमुखसँग छलफल

कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुखहरूसँग प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्थालगायत विविध विषयमा छलफल गरेका छन्।
धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेशको शान्ति सुरक्षासम्बन्धी समसामयिक विषयमा छलफल गरेका हुन्। छलफलमा लागुऔषध नियन्त्रण, सीमामा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र सीमा क्षेत्रमा सहज आवागमनका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र चोरीका घटना वृद्धि भएको अवस्थामा सीमामा निगरानी कडाइ गरिएको सुरक्षा निकायले छलफलमा जानकारी गराएका छन्। लागुऔषध प्रयोगकर्ताभन्दा व्यापारीलाई समात्न सुरक्षा प्रभावकारिता बढाइएको सुरक्षा निकायका प्रमुखले बताएका छन्।

छलफलमा प्रदेश सरकारका मन्त्री, सचिव, प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायमा प्रमुख तथा प्रतिनिधिलगायत सहभागिता थिए।