‘बलिदान’को एक्सन प्रधान टिजर सार्वजनिक
काठमाडौं : अभिनेता समीर भट्टको जन्म दिनको अवसर पारेर चलचित्र ‘बलिदान’को प्रि–टिजर सार्वजनिक गरिएको छ।
यस वर्षको दशैंको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको टिजर अभिनेता भट्टको जन्मदिनको अवसर पारेर शुभकामना स्वरूप सार्वजनिक गरिएको हो।
प्रि–टिजरमा अभिनेता समीरका दमदार एक्सन दृश्यहरू प्रस्तुत गरिएको छ। भिडियोको अन्त्यमा समीरको आक्रोशपूर्ण चिच्याहटले दृश्यलाई अझ प्रभावशाली बनाएको छ।

चलचित्रका निर्देशक सन्तोष सेनका अनुसार समीरमा कलाकारिता र अभिनयका सबै गुण भरिएका छन् र ‘बलिदान’ले ती सबै पक्ष उजागर गरेको छ। सेनले प्रि–टिजरलाई समीरको प्रस्तुतिको झलक भन्दै यो सिरिजमा थप झिल्काहरू क्रमशः सार्वजनिक गरिने जानकारी दिए।
चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय रहेको छ। आसुसेन फिल्म्स् प्रालिको प्रस्तुति रहेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन्।
गत वर्ष दशैंमै प्रदर्शनमा आएको समीरको डेब्यु चलचित्र ‘१२ गाउँ’ले बक्स अफिसमा १९ करोडमाथिको ग्रस कलेक्सन गरेको थियो । साथै समीरको एक्सन अवतार र सुगठित शरीरको समेत चर्चा भएको थियो।