सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘समाजमा पछाडि पारिएका वर्ग समुदायको हितमा काम गर्न प्रतिबद्ध छौँ’

२०८२ वैशाख १७, ०७:०७ खबर संवाददाता

कैलालीः सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बहादुरसिंह थापाले समाजमा पछाडि पारिएका वर्ग समुदायको हितमा काम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। धनगढीस्थित अर्थ मन्त्रालयमा मंगलवार भएको छलफलमा उनले प्रदेशमा रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, मुक्त हलियालगायत सबैको अधिकार सुनिश्चित गर्न सरकारले काम गरिरहेको बताए। 

कार्यवाहक मुख्यमन्त्रीसमेत रहेका थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत मुक्त कमैया, कम्लरी र हलिया पुनस्र्थापनाका सवाल सम्बोधन गर्न आवश्यक पहल गरिने बताए। 'नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यी समुदायको दिगो पुनःस्थापनका लागि निर्माण गरेको कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकार प्रतिबद्ध छ। सोअनुसार काम गर्न केही न केही कार्यक्रम अगाडि बढाउँछौँ', उनले भने। 

कार्यक्रममा अर्थ राज्यमन्त्री प्रकाशबहादुर बमले पनि सरकारले मुक्त घोषणा गरेका समुदायका सवालमा आफूहरू गम्भीर रहेको बताए। कार्यक्रममा मुक्त कमैया, कम्लरी र हलिया अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिले पुनस्र्थापनाको सवाल सम्बोधनका लागि ध्यानाकर्षण पत्र बुझाएका थिए।

कमेन्ट लोड गर्नुस