सबै बालबालिकाको भविष्य सुनिश्चित गर्न आवश्यक छः मन्त्री सुडी

कैलालीः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारले सन् २०३० भित्र सबै बालबालिकाका लागि स्वस्थ, सुरक्षित र समुन्नत जीवनको आधार तयार गर्ने लक्ष्य लिएको बताएका छन्।
आइतवार धनगढीमा आयोजना गरिएको राष्ट्रिय बालबालिका नीति, २०८० को कार्यान्वयन कार्ययोजना मस्यौदामा राय सुझावसम्बन्धी प्रदेशस्तरीय छलफलमा उनले सबै बालबालिकाको भविष्य सुनिश्चितताका लागि नीति लागू गर्न सरकारले तयारी अघि बढाएको बताए।
नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन २०७५, नियमावली २०७८, सोह्रौँ योजनाका साथै बालअधिकारसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिहरूले निर्धारण गरेका मापदण्ड र मार्गनिर्देशनहरूलाई व्यवहारमा उतार्न कार्ययोजना तयार गरिएको मन्त्री सुडीको भनाइ थियो। उनले नीति लागू भएपछि बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा, खेलकुद, संरक्षण, सहभागिता र सर्वाङ्गीण विकासमा समान र समावेशी पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सरकारले बालबालिकासम्बन्धी सबै कानुनी र नीतिगत प्रतिबद्धताहरूको कार्यान्वयनमा जोड दिएको बताउँदै मन्त्री सुडीले विशेषगरी शारीरिक, मानसिक हिंसा, शोषण, विभेद र उपेक्षाबाट मुक्त समाज निर्माण गर्ने लक्ष्य लिएको बताए। प्रारम्भिक बालविकास, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सम्पूर्ण व्यक्तित्व विकासका पक्षलाई समेटेर कार्ययोजना अघि सारिएको उहाँको भनाइ छ।