सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारद्धारा ३० करोडका गाडी खरिद

२०७६ असार २९, ०१:४४ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले झण्डै ३० करोड बराबरका विलासी गाडी खरिद गरेको पाईएको छ। प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सहित अन्य मन्त्रालय,  प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभा सचिवालय र  मुख्य न्यायधिवक्ताको कार्यालयले समेत गरेर ३० करोड बराबरका नयाँ सवारी साधन खरिद गरेको हो। विकास बजेट खर्च गर्न नसकेका बेला प्रदेश मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, मुख्य न्यायधिवक्ता तथा कर्मचारीका लागि भने करोडौँका गाडी खरिद गरिएको हो।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा मात्रै ४८ वटा मोटरसाईकल, १६ वटा एम्बुलेन्स र ३० वटा विलासी गाडी खरिद गरिएको छ। ती सवारी साधन खरिदमा सरकारले २९ करोड १९ लाख १६ हजार खर्च गरेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले मुख्यमन्त्री त्रिलोचन भट्टका लागि एउटा टोयटा गाडी सहित ८ वटा मोटरसाईकल र २ वटा नयाँ गाडीको खरिद गरेको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले ५ करोड ३१ लाख ४१ हजारमा ११ वटा गाडी खरिद गर्दैछ। मन्त्रालयले एउटा कानूनमन्त्री र एउटा गाडी सचिव र अन्य ९ वटा पिकअप भ्यान ९ वटै जिल्ला प्रहरी कार्यालयका लागि खरिद गरिन लागेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सुचना अधिकारी लक्ष्मी पोखरलले जनाए।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पनि चालु वर्षमा दुई करोड ६१ लाख ५३ हजारमा नयाँ गाडीे खरिद गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले पनि केही समय पहिले ७० लाखमा एएटा गाडी खरिद गरेको छ भने थप १ वटा गाडी खरिदको लागि टेण्डर आह्वान गरिएको जनाएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले दुई करोड ९ लाख रुपैयाँ बराबरका तीन वटा नयाँ गाडी खरिद प्रक्रिया अगाडि बढाएको छ।  

प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गत फागुनमा नै २ वटा नयाँ गाडी गरेकोमा ८ वटा थप मोटरसाइकल खरिदको प्रक्रिया अगाडी बढाएको छ। सामाजिक विकास मन्त्रालयले १५ वटा मोटरसाईकल, १६ वटा एम्बुलेन्स र दुई वटा चारपांग्र गाडी खरिदमा ७ करोड ७२ लाख ८४ हजार खर्च गरेको छ।

यस्तै, मुख्य न्यायधिवक्ताको कार्यालयले पुषमा नै २ वटा निशान कम्पनीका गाडी र २ वटा मोटरसाइकल खरिद गरेको थियो। २ वटा गाडी खरिदमा मात्रै कार्यालयले १ करोड १४ लाख ८४ हजार खर्च गरेको छ।  प्रदेश प्रमुखको कार्यालयले चालू आर्थिक वर्षमै ५७ लाख पर्ने हुुन्डाईको क्रेता गाडी खरिद गरेको छ।  प्रदेशसभा सचिवालयले चालू आर्थिक वर्षमा १० वटा नयाँ गाडी खरिद गरिसकेको छ। ६ करोड २७ लाख ९० हजार खर्च गरेर ती गाडी खरिद गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस