सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको हरैया शिविरबाट धनगढीको धुर्जन्ना सारिएका सुकुम्बासीको विचल्ली

२०७६ असार २९, १२:१५ कमल सावद

शुक्रबार दिउँसो धनगढी उप–महानगरपालिकाको धुर्जन्नाको सुकुम्वासी शिविरमा पुग्दा बस्ती सुनसान थियो। गत जेठ २३ गते आएको हावाहुरीले खरले छाएको छानो उडाएपछि अहिले सम्म छाउन नसकेका उनीहरु कोही छानो छाउन व्यस्त थिए। कोही मजदुरीका लागि बाहिर गएका थिए। केही भने शिविर नजिकैको नदीमा निर्माणाधिन तटबन्धको योजनामा मजदुरी गरिरहेका थिए।

 बर्षातको पानीले भिजेको टहरा भित्र बृद्ध–बृद्धा र बाल–बच्चा मात्र थिए। परालले बनाएको गुन्द्रीमा बसेका  एक बृद्धले भने, ‘वर्षातको पानीले टहरामा बस्न समस्या छ।’ खानलाई गाँस छैन्, बस्न बास नै, हामीलाई व्यवस्थापन गर्ने भन्दै हरैयाबाट यहाँ ल्याइएको हो।’ स्थानीय चन्द्रबहादुर लामाले अझै पनि उचित व्यवस्थापन नहुादा समस्या भइरहेको गुनासो गरे।

गत वर्ष असार २२ गते स्थानान्तरण गर्दा भएको सहमती अनुसार व्यवस्थापन नगरिएको गुनासो सुकुम्बासीहरुको छ। गोदावरी नगरपालिकाको हरैयाबाट उनीहरुलाई स्थानान्तरण गर्दा एक÷एक कठ्ठा जमिन, दुई कोठे घर, खानेपानी तथा विद्युतको सेवा उपलब्ध गराउने सहमति भएको सुकुम्वासी परिवारहरुको दावी छ। तर सहमती अहिले सम्म कार्यान्वयन भएको छैन्। 

हरैया शिविरमा हुँदा सुकुम्वासी रोजगारीका लागि नजिकैको अत्तरिया बजारमा धाउने गर्थे। हरैया शिविरबाट स्थानान्तरण गराएपछि दैनिक गुजरा चलाउने समेत हम्मेहम्मे परेको गुनासो गरिएको छ। धुर्जन्ना शिविर स्थानान्तरण गराउँदा बालबच्चा पढ्दै आएको विद्यालय समेत छुटेको छ।

स्वास्थ्य, खानेपानी, विद्युत लगायतका अति आवश्यक सुविधाबाट वञ्चित भएको गुनासो गरिएको छ। असारको झरीमा ओत लाग्न समेत सकस भएको धुर्जन्ना शिविरकी अध्यक्ष हरिना बोहराको गुनासो छ। हरैयाबाट सरेको एक वर्ष भएको छ। उनले भनीन्,‘हामीसंग भएका प्रतिवद्धता पुरा भएका छैनन्, वर्षातको समयमा हामीलाई सास्ती छ, २०६१ सालमा तत्कालीन माओवादीले हामीलाई हरैयामा राखेको थियो।

सर्न भनेपछि हामी धुर्जन्नामा आयौँ।, तर सहमती अनुसार हाम्रो व्यवस्थापन भएको छैन्।’  अहिले ९२ परिवारलाई धुजनर््नामा स्थानान्तरण गरिएको दावी गरिएपनि अहिले सम्म ६२ परिवार मात्र धुर्जन्नामा बसोबास गरिरहेका छन्। सो मध्ये अहिले पनि ४८ परिवार हरैया बस्दै आएका छन्। हरैयामा सुकुम्बासी बसेको जग्गा खरिद गर्ने सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्राली पोखराले धुरझन्नामा ५९ कट्ठा जग्गा खरिद गर्दै व्यवस्थापन गरेको दावी गरेको छ।

हरैयाका अन्य सुकुम्बासीका कारण व्यवस्थापन गर्न नसकिएको कम्पनीका सदस्य शंकर कार्कीले बताए। उनले भने, ‘हरैयाबाट धुर्जन्नामा सारिएकाहरुको उचित व्यवस्थापनका लागि कम्पनी तयार छ। तर हरैयामा पुनः सुकुम्बासी बसेपछि त्यो व्यवस्थापन गर्न हामीलाई समस्या भएको हो।’ जमिनमा केही समस्या आएको उनले पनि स्वीकार गरे। ‘खरिद गरेको जमिनको बिचमा केहि समस्या आएको छ,’उनले भने, ‘तर त्यो समाधानका लागि प्रकृया शुरु गरिएको छ।’

गोदावरीको हरैयामा तत्कालीन माओवादीले २०६१ सालमा सो शिविरमा राखेको थियो। तर शिविरबाट हटाउन पनि पूर्व माओवादीकै नेताहरुको संलग्नता रहेको आरोप लाग्दै आएको छ।  कैलालीको गोदावरी नगरपालिका हरैया शिविरबाट धनगढी उप–महानगरपालिकाको धुर्जन्ना सारिएका सुकुम्बासी परिवारको समेत बिचल्ली भएको छ। उचित व्यवस्थापन हुन नसक्दा सुकुम्वासी परिवारको बिचल्ली भएको हो।    

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस