सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमाञ्चल एकेडेमीलाई उत्कृष्ट उमाविको सम्मान

२०७६ असार २८, ०५:२८

सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)ले उत्कृष्ट उच्चमाध्यामिक विद्यालयको सम्मान पाएको छ। काठमाडौंमा शनिबार भएको एक समारोहमा नागरिक एकता समाजले देशभरका उत्कृष्ट उच्चमाध्यामिक विद्यालयहरुलाई सम्मान गर्ने क्रममा सुदूरपश्चिम प्रदेशबाट एसपीएलाई उत्कृष्ट उमाविको सम्मान गरेको हो। 

राष्ट्रिय नाचघर जमलको सभाहलमा हजारौं मानिसहरुका बीचमा पूर्व उपराष्ट्रपति परमानन्द झाबाट एसपीएका क्याम्पस प्रमुख हेमराज जोशीले उक्त सम्मान ग्रहण गरेका थिए। सम्मान ग्रहणपश्चात बोल्दै क्याम्पस प्रमुख जोशीले सुदूरपश्चिमबाटै देशभरकै उत्कृष्ट क्याम्पसहरुमा छनौट भई सम्मानित हुनु यस क्षेत्रकै गौरव भएको बताए। 

‘यो सम्मान एसपीएका सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरु अनि विधार्थीहरुको मिहिनेतको प्रतिफल हो,’ क्याम्पस प्रमुख जोशीले भने, ‘सम्मानले आगामी दिनमा अझै उत्कृष्ट गुणस्तरीय शिक्षा प्रदान गर्दै एसपीएलाई देशकै नमुना क्याम्पस बनाउँने हौसला बढेको छ।’ सम्मान कार्यक्रममा सातवटै प्रदेशका उत्कृष्ट उमाविहरुलाई सम्मान गरिएको थियो। 

धनगढी सन्तोषी टोलमा अवस्थित एसपीए क्याम्पस २०५६ सालमा स्थापना भएको थियो। हाल क्याम्पसमा प्लस टू देखि स्नातकोत्तर सम्मका कार्यक्रमहरु सञ्चालनमा छन्।  प्लस टूमा विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, र शिक्षा संकायको अध्यापन हुँदै आएको क्याम्पसमा स्नातकमा बीए, बीएचएम, बीबीएस, बिआईएम र बिएडको अध्ययन हुँदै आएको छ। 

कमेन्ट लोड गर्नुस