सुदूर नेपाललाई विश्वसँग जोड्दै

अविरल बर्षाका कारण सप्तरीमा २० घर बगे, जिल्लाका १८ वटै स्थानीय तह प्रभावित

२०७६ असार २८, ०३:१७

अविरल वर्षाले सप्तरीमा २० घर बगाएको छ। बिहुल नदीमा आएको बाढीले बोदे बर्साइन नगरपालिकाको महनौरी गाउँका २० वटा घर बगाएको छ। घर बगाएपछि सर्वसाधारण अर्काको घरमा बस्न बाध्य भएका छन्। हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १३ गोबरगाढाका हरेक घरमा पानी पसेको छ। करिब ५ सय परिवारको घरमा पानी पस्दा सर्वसाधारण कष्टपूर्ण जीवन धान्न बाध्य भएका छन्। सोही नगरपालिकाको वडा नम्बर १४ रम्पुरा मल्हनियाँको हरेक घरमा पानी पस्दा सर्वसाधारण पीडित बनेका छन्।

यस्तै जिल्लाका अधिकांस ठाउँ डुबानमा परेका छन्। बिभिन्न नदी र खोलामा आएको बाढीका कारण जिल्लाको १८ वटै स्थानीय तह प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय, राजविराजले जिल्लाभरिका एक हजार घर डुबानमा परी जोखिममा रहेको जनाएको छ। तर हाल सम्म कुनै मानवीय क्षति नभएको प्रहरी निरीक्षक रिता पौडेलले जानकारी दिइन। खड्ग खोलाको बाढीले बिसनपुर(स्वर्णपट्टी सडकमा क्षति र्पुयाएको छ। खड्ग नगरपालिका ८ स्थित बिसनपुर सडकखण्ड बाढीले बगाउँदा यातायात अवरुद्ध छ। 

यस्तै वर्षाका कारण तिलाठी प्रहरी चौकीबाट प्रहरीहरु विस्थापित भएका छन्। प्रहरी भने सुरक्षित ठाउँमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खाँडो नदीमा आएको बाढीले तिलाठी प्रहरी चौकी र भन्सार कार्यालयसमेत डुबानमा परेको छ। खाँडो खोलाको बाँध बिभिन्न ठाउँमा भत्किँदा तिलाठी(कोइलाडी गाउँपालिकाका अधिकांस वडामा पानी पसेको छ। खाँडो खोलाको बाढीले गाउँपालिकाको वडा नम्बर १ तिलाठीका करिब ४ सय परिवारको घर डुबानमा परेको छ। यो गाउँपालिकाको सकधरपुरा र बेल्ही गाउँमा पनि खाँडो नदीको बाढी पस्दा घरहरु डुबानमा परेका छन्।

पानीको निकास नहुँदा सदरमुकाम राजविराज नगरपालिकाका घरमा समेत पानी पसेको छ। वडा नम्बर २ का अधिकांस व्यक्तिको घर जलमग्न छन् । मुख्य सडकहरु पानीले भरिएका छन्। खड्ग र पाँचु खोलामा आएको बाढीले डाक्नेश्वरी नगरपालिकाका अधिकांस ठाउँ डुबानमा परेका छन्। यो नगरपालिकाको प्रमुख बजार पातो पूर्ण रुपले जलमग्न छ भने औरही, तरही, भुतहीसहितका गाउँका घर पनि डुबानमा परेका छन्।

अविरल वर्षाको कारण त्रियुगा खोलामा आएको बाढी वस्तीमा पसेको छ। उक्त बाढी सप्तकोसी नगरपालिका ३ स्थित दलित वस्तीमा पस्दा ३५ परिवार जोखिममा परेका छन्। सोही नगरपालिकाको वडा नम्बर ७ स्थित चौधरी बस्तीमा समेत बाढी पस्दा २५ परिवार जोखिममा छन्। नगरपालिकाको केन्द्र फत्तेपुर पनि डुबानमा परेको छ। फत्तेपुरस्थित त्रियुगा खोलाको हेडबाँध पारुहाङ चोक क्षेत्रका करिब सय घरमा बाढी पसेको छ। बलान र बिहुल नदीमा आएको बाढीले बोदे बर्साइन नगरपालिका र बलान बिहुल गाउँपालिकामा पानी पसेको छ।
 

कमेन्ट लोड गर्नुस