बाचा

मोहन भट्ट:
बाचा कसम खाने अनेकौं पाइन्छन् यहाँ
खोलाले बाचा गर्छ किनाराहरुलाई
"एक दिन पक्कै भेटाउनेछु तिमीहरुलाई ।"

नदीले बाचा गर्छ मुहानलाई
"एक दिन फर्केर पक्कै आउनेछु ।"
डढेलोले बाचा गर्छ वनलाई
"तिम्रो जवानी मास्ने छैन कहिले केवल न्यानो स्पर्श दिन्छु ।"


भर्खर रङ्गिएको सिउदो पखालेर गएको एक परिन्दा
अन्तिम श्वास लिदै बिधवालाई बाचा गर्छ
"यो अपुरो साथ अब अर्को जुनी पूरा गर्नेछु ।"
कुनै दिन तिमीले पनि त बाचा गरेकी थियौ,
जुनी जुनी तिम्रो काख मेरो सिरानी भनेर ।।