सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सहिद गोविन्द गौतमको शालिक अनावरण

२०७६ असार २६, ०३:४३ खबर संवाददाता

कञ्चनपुर–जिल्लाको आनन्दबजारमा भारतीय एसएसबीको गोली प्रहारबाट ज्यानको आहुती दिएका शहिद गोविन्द गौतमको विहिबार शालिक अनावरण गरिएको छ। नेकपा सुदूरपश्चिमका प्रमुख सचेतक तारालामा तामाङ र पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले संयुक्त रुपमा शालिक अनावरण गरेका हुन्। 

शालिक अनावरण कार्यक्रममा बोल्दै तामाङले प्रदेश सरकारले सहिद गोविन्द गौतमको लागि सम्मान गर्दै उनको सम्झनामा शालिक र पार्क निर्माण गरिएको बताए। पुनर्वास नगरपालिकाका मेयर जीवन थापाले नमुना सामुदायिक वनको क्षेत्रलाई समेत समेटेर पार्क विस्तार गरिने बताए। 

कार्यक्रममा शहिद गोविन्द गौतमका बुवा खेमलाल गौतमले छोराको शालिक हेर्ने चाहाना पुरा भएको बताए। प्रदेश सभा सदस्य तारालामा तामाङको प्रदेश पुर्वाधार विकास योजनाबाट ८ लाखमा शालिक र पार्क निर्माण भएको हो। त्यस्तै, पुनर्वास नगरपालिकाको ५ लाख बजेटबाट पार्कका लागि गेट र तटबन्ध निर्माण गरिएको छ।

भारतले दिनानुदिन अतिक्रमण गर्दै आईरहेको नेपालको सीमा रक्षाका लागि कञ्चनपुरको आनन्द बजारमा २०७३ फागुन २६ गते भएको भारतीय आक्रमणमा भारतीय एसएसबीको गोली लागेर गौतमले सहादत प्राप्त गरेका थिए। सीमा सर्वेका लागि पटकपटक गठन भएका सीमा सर्वे टोलीले अन्य ठाँउहरुमा सर्वेगरि सीमा स्तम्भ समेत निर्माण भईसक्दा सुरक्षा चुनौती देखाउदैँ पुनर्वासमा भने सर्वे मात्र गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस