सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुको कृष्णपुरका स्थानीय अम्रिसो खेतीतर्फ आकर्षित

२०८१ चैत्र १७, १२:४६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुको कृष्णपुरका स्थानीयहरु अम्रिसो खेतीतर्फ आकर्षित हुन थालेका छन्।

अम्रिसो खेतीबाट राम्रो आम्दानी हुन थालेपछि कृष्णपुर नगरपालिका– १ दोमिल्लाका अधिकांश स्थानीयहरुको यो खेति तर्फ आकर्षण बढेको हो। लालझाडी मोहना संरक्षित क्षेत्रमा पर्ने ऐश्वर्य सामुदायिक वनमा अहिले अम्रिसो खेती फस्टाउँदै गएको छ। अहिले सो क्षेत्रमा भईरहेको अम्रिसो खेती स्थानीयहरुको जीविकोपार्जनको माध्यम पनि बनेको छ।

सामुदायिक वन उपभोक्ता समितिले गत वर्ष ३० लाख रुपियाँको बिक्री गर्ने लक्ष्य लिएको थियो। तर खेती राम्रो हुँदाहुँदै पनि हात्तीले क्षति पुर्‍याएपछि सो लक्ष्य पुरा हुन नसकेको समितिका अध्यक्ष ईश्वरबहादुर बुढाले बताए। उनले अम्रिसो खेतीले समूहलाई आम्दानी र उपभोक्तालाई ज्यालादारीमा रोजगारी दिएको बताए।

समुहले यस वर्ष अम्रिसोबाट तयारी झाडु बिक्रीबाट १० लाख रुपियाँ खुद नाफा गर्ने लक्ष्य लिएको उनले बताए। सामुदायिक वन उपभोक्ता समितिले एउटा कुचो बनाएबापत १५ रुपियाँसम्म दिने गरेको छ। एक दिनमा एक परिवारले दुईदेखि तीन सय वटा कुचोसमेत तयार पार्ने गरेका छन्। यसरी तयार गरिएको एउटा कुचो ५० देखि ७० रुपियाँको दरले थोक मूल्यमा बिक्री हुने गरेको छ।

समूहले सामुदायिक वनको खुला ठाउँमा अम्रिसो खेती गरेर आम्दानी गर्न सुरु गरेपछि स्थानीयहरू आकर्षित भएका हुन्। थोरै जमिन भएका स्थानीयले पनि अम्रिसोबाट घर खर्च निकाल्ने गरेका छन्। स्थानीयले राजमार्गका बजार र धनगढी÷महेन्द्रनगरसम्म कुचो बिक्री गर्छन्।


 

कमेन्ट लोड गर्नुस