धनगढीको सिप तथा रोजगार मेला सम्पन्न

धनगढीः धनगढीमा सञ्चालित सिप तथा रोजगार मेला सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिकाको आयोजनामा फागुन ८ गते सुरु भएको मेला आज सम्पन्न भएको हो।
धनगगढी उपमहानगरपालिकाकी उप–प्रमुख कन्दकला रानाले मेलाको समापन गरेकी छन्। रानाले मेलाबाट तालिम लिएकाहरूको क्षमता अभिवृद्धि मात्रै नभएर आत्मविश्वास समेत बढेको बताइन्। उनले भनिन्, ‘यो मेलाबाट थुपै्र सिप सिकेर जाँदै हुनुहुन्छ। यो तालिम लिएर आर्थिक रुपमा मात्रै बलियो हुन्छन् नसोच्नु होला, उहाँहरू मानसिक रुपमा पनि बलियो हुनुभएको छ। अब सिप सिकेर कि कतै काम गर्नुहुन्छ, कि आफ्नै व्यवसाय सुरु गर्नुहुन्छ। खाली समय बसेर दिमागलाई बेकामे त राख्नुहुन्न।’
मेलामा सुदूरपश्चिमभरिका एक हजार ४० युवालाई सिपमूलक तालिम दिइएको छ। धनगढी उपमहानगरपालिकाले प्रदेशका नौवटै जिल्लाका एक हजार ४० युवालाई आठ वटा विधामा तालिम दिएको छ। तालिममा सहभागिताका लागि प्रदेशभरिबाट चार हजार ८ सय ३० जनाले आवेदन दिएका थिए। त्यसमध्ये एक हजार ४० जनालाई छनोट गरेर तालिम दिइएको नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घका प्रदेश अध्यक्ष प्रमोद पाठकले बताए। महासङ्घको प्राविधिक सहयोग तथा धनगढी उपमहानगरको आयोजनामा सिप तथा रोजगार मेला आयोजना गरिएको हो। रोजगारीका अवसर पाउनका लागि दक्ष जनशक्ति तयार गर्ने, युवाहरूलाई दक्ष बनाई उद्यमी बन्न र स्टार्टअप व्यवसायका लागि उत्प्रेरित गर्ने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष पाठकले बताए।


अटोमोबाइल, इलेक्ट्रोनिक, पेन्टिङ, मेकानिकल, निर्माण, आथित्य–सत्कार, सौन्दर्य, लेखा व्यवस्थापन, सूचना प्रविधि, आर्ट एन्ड क्राफ्ट डिजाइनिङ, पुरोहित, प्लम्बिङ, वाइरिङ, मन्टेश्वरी लगायत विधामा सहभागी युवाहरूलाई निःशुल्क रूपमा सिप सिकाइएको छ।
