सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेशको अस्थायी राजधानी धनगढीका सडकहरुमा आवातजावात गर्नै मुस्किल

२०७६ असार २५, १२:०८ रोशन भट्ट

वर्षाैं पहिलेदेखि दयनिय अवस्थामा रहेका धनगढीका विभिन्न सडकहरुमा मनसुनी बर्षा सुरु भएसंगै आवातजावात गर्नै मुस्किल हुन थालेको छ। भत्किएर भताभुंग भएका सडकहरुको समयमा मर्मत तथा पुनःनिर्माण नहुँदा अहिले आवतजावत गर्नै मुस्किल भईरहेको हो। उप–महानगर क्षेत्रभित्र रहेका चलनचल्तीका सडकहरुमा आवतजावत गर्न सबैभन्दा बढि कठिन भईरहेको धनगढीको वडा नम्बर ३ चौराहाका स्थानीय भुपेन्द्रराज श्रेष्ठले बताए। उनले निर्माणाधिन अवस्थामा रहेका सडकहरुमा निर्माण व्यवसायीको लापरवाहीका कारण समस्या भोग्नु परेको गुनासो गरे। 

मोहनापुल अत्तरिया ६ लेन सडक, सहिदगेट–शिवनगर सडक र भन्साररोड–सन्तोषीटोल सडक सामान्य वर्षामा पनि हिलाम्मे हुन थालेपछि अवातजावातमा समस्या हुनुको साथै दुर्घटनाको जोखिम पनि बढेको छ। समयमा नै निर्माण कार्यलाई गति दिन नसक्दा तथा र खाल्डाखुल्डी भएका सडकमा समयमै मर्मत नहुँदा अहिले आएर आवतजावतमा सास्ती हुन थालेको धनगढी वडा नम्बर ४ का स्थानीय हरिप्रसाद भट्टले बताए। ‘गतविगत वर्षझै यस वर्ष पनि बर्षा सुरु भएसंगै पुरानै समस्या दोहोरिएको छ,’ उनले भने, ‘असार तेश्रो साता सम्म धुलोले हैरान भएका थियौँ, अहिले हिलोले आजित भएका छौ।’ 

उनका अनुसार चलनचल्तीका सडहरु वर्षात सुरु भएसंगै आहोरदोहोर नै गर्न नसक्ने गरि विग्रिएका छन्। नाली विहिन सडकहरुमा पानीको निकास नहुदा हिलाम्मे हुने गरेका छन् भने कतिपय सडकमा पुरानो गरिएको कालोपत्रेको निशान समेत देखिएको छैन्। राजमार्ग बाहेक अन्य नगर क्षेत्रका सबै सडकहरुको मर्मतको जिम्मेवारी धनगढी उप–महानगरपालिकाको हो। तर उप–महानगरपालिकाले केही व्यक्तिका लागि आवश्यक सडकहरुमा मर्मतको कार्य गरेपनि चलनचल्तीका सडकहरुमा मर्मतमा ध्यान नदिएको आरोप धनगढीकै वडा नम्बर २ का स्थानीय रमेशप्रसाद पन्तको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस