सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा राजु परियार आर्थिक अभावले ९ वर्षदेखि रोग पाल्दै

२०८१ चैत्र १०, ०८:२३ कमल सावद

धनगढी: दाङबाट राजु परियार १० वर्ष पहिला धनगढी आए। धनगढी उपमहानगरपालिका–२ भन्सार रोड (धनगढी फन सिटी) अगाडी उनले कोठा भाडामा लिएका छन्। उनको पेसा कटाइ–सिलाइ हो।

उनीसँग आफ्नै व्यवसाय छैन। लुगा सिलाउन एक मेसिन छ। साहुको पसलमा उनले लुगा सिलाउने काम गरे। साहुले दिएको रकमबाट पाँच जनाको परिवार पाल्दै आएका थिए। राजु परियार २०७२ सालमा बिरामी भए। बायाँ खुट्टाको बुढी औलामा समस्या देखियो। उनले क्यान्सर भएको आकलन गरे। औलाको परीक्षण गर्न चितवन पुगे। तर, औलामा क्यान्सर थिएन। उनको खुट्टाको नसाहरूमा रगत जाम भएको थियो। नसाहरूमा रगत चल्न छोडेको थियो।

धनगढी, चितवन लगायतका अस्पतालहरूमा उनी पुगे। नसाहरूको शल्यक्रिया गर्नुपर्ने चितवनका चिकित्सकहरूले भने। शल्यक्रियामा १२ लाख खर्च लाग्ने देखियो। तर, राजुसँग १२ लाख थिएन। उनीसँग आर्थिक अभाव भयो। चितवनमा आर्थिक अभावका कारण शल्यक्रिया सम्भव भएन। उनलाई वीर अस्पताल, काठमाडौँ पठाइयो। वीर अस्पतालमा उपचार सुरु भयो। वीर अस्पतालले नसाहरूको परीक्षणसमेत गरेन्। उनको खराब भएको बुढी औला मात्र काटियो।

धनगढीदेखि चितवन र काठमाडौँसम्म पुग्दा राजुको ८ लाख सकियो। तर, बिराम सन्चो भएन। उनी धनगढी फर्किए। बायाँ खुट्टाको बुढी औला पाक्दै गयो। औलाहरू भित्र–भित्रै पाक्दै गए। औषधी–उपचारका लागि उनी धेरै अस्पतालहरूमा पुगे। तर, सन्चो भएन। उनको पीडा रोकिएन। नौ वर्षदेखि राजुले बिराम पाल्दै आएका थिए। गत पुसबाट उनका अरू औलाहरू पनि सुनिए। उनको बायाँ खुट्टामा ठुलै समस्या आयो। रातिको निद्रा हरायो। सिलाइ मेसिन थन्कियो। राजुका दिनहरू रुदै बित्न थाले। उनले औषधीको नाममा दुखाइका गोलीहरू खाँदै आएका छन्। खुट्टा सारै भएपछि उनी काठमाडौँ गए। परीक्षणमा मात्र ८० हजार सकियो। शल्यक्रियाका लागि अस्पतालले बोलाएको छ। तर, उनीहरूसँग बसको भाडा पनि छैन। मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले शल्यक्रियाका लागि राजुलाई १५ दिनमा बोलाएको हो।

राजुलाई शल्यक्रियामा लाग्ने खर्चको जानकारी छैन। तर, उनीसँग काठमाडौँ जान पनि पैसा छैन। पैसा अभावका कारण रोग पालेर घरमा उनी रुदै बसेका छन। पीडा सहेका छन्। राति निदाउन भुलेका छन्। उनी एक लाख ५० हजार मात्र भएपनि काठमाडौँ जाने थिए। शल्यक्रियाको प्रक्रिया सुरु गर्ने थिए। एक परीक्षणको १२ हजार खर्च भएपछि उनी डराएका हुन्। पैसा नभएकाले काठमाडौँ जाने आँट उनीमा छैन। मनमोहन शिक्षण अस्पतालले १५ दिनमा आउन भनेको हो। तर, उनी रकम अभावका कारण गएका छैनन्। मनमोहन शिक्षण अस्पतालमा दैनिक औषधीमा मात्र २ हजार खर्च भयो। उनलाई खर्चको भय छ। तर, खल्तीमा एक रुपैयाँ छैन।

राजुको परिवार आफन्तहरू र ससुरालीहरूको सहयोगमा साँझ–बिहानको छाक टार्दैछन्। कोठाको भाडा तिर्न बाँकी छ। पाँच जनाको परिवारलाई बाँच्न कठिन भएको छ। घर खर्चको जोहो गर्ने राजु मर्ने र बाँच्नेको दोसाँधमा छन्। उनको दैनिकी रुदैमा गएको छ। उनकी श्रीमती वसन्ती स्याहारमा छन्। उनले पनि मजदुरी गर्न पाएकी छैनन्। राजुलाई शौचालय पनि बोकेर लैजानु परेको छ। आर्थिक अभावका कारण वसन्ती पनि हैरान भएकी छन्। श्रीमानको ज्यान बचाउन नसक्ने अवस्थामा उनी पुगेकी छन्। कतैबाट सहयोग भए, श्रीमानको ज्यान जोगिने आसा भने उनीमा छ। उनले सहयोगको याचना गरेकी छन्।

गिता नेपालीको मुक्तिनाथ विकास बैँक, धनगढीको खाता नम्बर ०७२२२३०१२५००३५००००० मा रकम जम्मा गरेर सहयोग गर्न उनीहरूले आग्रह गरेका हुन्।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस