सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा १७ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ

२०८१ चैत्र ३, ०१:४९ खबर संवाददाता

धनगढीः कैलालीमा १७ ग्राम ९२० मिलिग्राम खैरो हेरोइन (लागुऔषध) सहित पाँच जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयले छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर नाकाबाट धनगढी उपमहानगरपालिका–६ का २८ वर्षीय आदित्य रानालाई दुई ग्राम ८६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको छ। गौरीफन्टाबाट मोटरसाइकलमा आउँदै गर्दा शङ्का लागेर प्रहरीले उनलाई चेकजाँच गरेको थियो।

यसैगरी, खैरो हेरोइनको कारोबार हुनेगरेको गोप्य सूचनाका आधारमा घोडाघोडी नगरपालिका–७ हरिनगरका २५ वर्षीय लक्ष्मण चौधरीलाई पक्राउ गरी उनको घरमा खानतलासी गर्दा प्रहरीले ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ। प्रहरीले चौधरीको घरमा कोटको खल्तीबाट १५ ग्राम ६० मिलिग्राम लागुऔषध बरामद गरेको छ। सोही कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले हरिनगरकै २५ वर्षीय राम चौधरी, २७ वर्षीय दुर्गेश चौधरी र बुटवलका ३५ वर्षीय रमेश कार्कीलाई पनि पक्राउ गरेको छ।

पक्राउ परेकाहरूमाथि आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए।

 

कमेन्ट लोड गर्नुस