प्रेस चौतारी कैलालीले होली खेलेर सङ्कलन गर्यो एक लाख ७७ हजार

धनगढी: प्रेस चौतारी नेपाल, कैलालीले होली खेलेर एक लाख ७७ हजार सङ्कलन गरेको छ।
जिल्ला कार्यसमितिको आयोजनामा तीन दिनसम्म खेलिएको होलीबाट एक लाख ७७ हजार चार सय पाँच रुपैयाँ सङ्कलन भएको हो।
प्रेस चौतारी नेपाल, कैलालीका अध्यक्ष जनकसिंह विष्टले आय–व्यय विवरण सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको आय–व्ययमा कुल सङ्कलन एक लाख ७७ हजार चार सय पाँच रुपैयाँ भएकोमा ८० हजार नौ सय ६० रुपैयाँ खर्च भएको छ। प्रेस चौतारी नेपाल, कैलालीले होली खेलेर ९६ हजार चार सय ४५ रुपैयाँ बचत गरेको हो। तर, २५ हजार रुपैयाँ सङ्कलन हुन बाँकी रहेको छ। आय–व्ययमा ७१ हजार चार सय ४५ रुपैयाँ खुद बचत भएको उल्लेख गरिएको छ।


प्रेस चौतारी, कैलालीले तीन दिनसम्म गाडी भाडामा लिएर होली खेलेको थियो। कैलालीको टीकापुरदेखि धनगढीसम्मको तीन दिनको गाडी भाडा खर्च २६ हजार चार सय पाँच रुपैयाँ भएको छ। तीन दिनमा ३० हजार नौ सयको खाना र ६ हजार आठ सय पाँच रुपैयाँको खाजा खर्च भएको छ। होलीको लुगामा ६ हजार आठ सय खर्च भएको छ। मादल, खैजडी, कार्ड, साउण्ड बक्समा १० हजार ५० रुपैयाँ खर्च भएको छ।

होलीको समयमा खाना खुवाउने र लुगा सहयोग गर्नेहरूको अभिलेख राखिएको छ। उनीहरूले गरेको सहयोगको अभिलेख आम्दानी र खर्चमा समावेश गरिएको अध्यक्ष विष्टले बताएका छन्। प्रेस चौतारी, कैलालीले सङ्कलन भएको रकम कोषमा जम्मा गर्ने बताएको छ।
