सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको गौमुलमा फलाम खानीको सम्भाव्यता अध्ययन गर्न मन्त्रालयलाई पत्र

२०८१ फाल्गुन १८, ०५:०६ खबर संवाददाता

धनगढी : बाजुराको गौमुल गाउँपालिकाले फलाम खानीको सम्भाव्यता अध्ययन गर्न मन्त्रालयलाई पत्र पठाएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई गौमुल गाउँपालिकाले फलाम खानीको सम्भाव्यता अध्ययन गर्न पत्र पठाएको हो।

परापूर्वकालमा उत्खनन गरेर बनाइएका फलामका भाँडाकुँडा र औजारहरू रहेको तथ्य सहीत मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न पत्र पठाएको पालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए। स्थानीयले गाउँपालिका भित्रै उत्खनन गरी निर्माण गरिएका कतिपय फलामका औजार र भाँडाकुँडा हालसम्म पनि प्रयोग गर्ने गरेका छन्।

हालसम्म पनि देखे सुनेका व्यक्तिहरूले औजारहरू प्रयोग गर्ने गरेको तथ्य समेत रहेकोले सम्भाव्यता अध्ययन गरी फलाम उत्खननका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गरिएको छ। गाउँपालिकाका– ४, ५ र ६ नम्बर वडामा फलाम खानीको सम्भावना रहेको छ।

गाउँपालिकाले फागुन १८ गते पत्र पठाएकोमा मन्त्रालयले सोही दिन दर्ता गरेको छ। दर्ता नम्बर १६७ मा दर्ता पत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सचिवलाई आवश्यक प्रक्रिया अघि बढाउन तोकआदेशसमेत गरिसकेका छन्।

फलाम खानी उत्खनन गर्न सके हजारौँको रोजगारी र विदेशबाट आउने फलाम नेपालमै उत्पादन गरी आर्थिक वृद्धि गर्न सकिने विश्वास गाउँपालिकाको छ। गाउँमा मानाकोटे धन, साबल, तावा, बन्चरा सहितका औजार सामाग्री हालसम्म पनि प्रयोगमा रहेको अवस्था छ। ‘पालिकाले सम्भाव्यता अध्ययनलाई पहिलो प्राथमिकतामा राखेको छ। त्यही अनुसार नै मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट र विज्ञको माग गरेका छौँ, अध्यक्ष रोकायाले भने।

मानाकोट क्षेत्रमा फलाम खानी रहेको दाबी छ।

 

कमेन्ट लोड गर्नुस