सुदूर नेपाललाई विश्वसँग जोड्दै

गिद्धको अवस्था सुधारोन्मुखः शुक्लाफाँटामा एक सय बढी गुँड भेटिए

तस्बिरः अविनाश चौधरी
तस्बिरः अविनाश चौधरी
२०८१ फाल्गुन १५, ०९:३६ खबर संवाददाता

धनगढीः विश्वमा डाइनोसरपछि तीव्र गतिमा लोप हुने क्रममा रहेको गिद्धको अवस्था नेपालमा थोरै सुधारोन्मुख देखिएको छ।

सरकारी निकायसहित विभिन्न सरोकारवाला सङ्घ संस्थामार्फत भइरहेको संरक्षणका क्रियाकलापका कारण गिद्धको अवस्था सुधारोन्मुख देखिएको हो। गिद्धको अवस्थामा सुधार हुँदै गएपछि गुँडको सङ्ख्या पनि बढ्दो क्रममा रहेको नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)द्वारा धनगढीमा आयोजित कार्यक्रममा जनाइएको छ। 

सो संस्थाका अनुसार सन् २००८ तिर नेपालमा गिद्धको गुँडको सङ्ख्या ४० देखि ५० वटासम्म रहेको थियो। २०२२ सम्म आइपुग्दा गुँडको सङ्ख्या पाँच सय बढी रहेको जनाइएको छ। सुदूरपश्चिममा मात्रै १५० भन्दा बढी गिद्धको गुँड भेटिएको बिसिएनका परियोजना अधिकृत भूपाल नेपालीले बताए।

'विगतको तुलनामा हालको अवस्था सुधारोन्मुख देखिएको छ,' उनले भने, 'शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै एक सय बढी गुँड भेटिएका छन्।' गिद्धले गुँडमा एउटा मात्रै अन्डा पार्ने र एक वर्षमा एउटा मात्रै बच्चा कोरल्ने गरेको जनाइएको छ। सन् २००२ देखि २०११ सम्मको अध्ययनले डङ्गर गिद्ध ९१ प्रतिशत र सानो खैरो गिद्ध ९६ प्रतिशत लोप भएको देखाएको थियो।

प्रकृतिको कुचिकार मानिने गिद्ध तीव्र गतिमा लोप हुन थालेपछि नेपाल सरकारले नेपालमा २०६३ जेठ २३ गतेबाट डाइक्लोफेनेक औषधीको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। यो औषधी प्रयोग गरिएको घरपालुवा जनावरको सिनो खाँदा गिद्ध मर्ने गरेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको थियो। त्यसपछि अन्य देशमा पनि डाइक्लोफेनेक निषेध गरिएको छ। गिद्धले पारिस्थितिकीय प्रणाली सन्तुलित राख्ने काम गर्छन्। 

नेपालमा नौ प्रजातिका गिद्ध पाइने गरेका छन्। जसमध्ये रैथाने मानिने सुन गिद्ध, डङ्गर गिद्ध र सानो खैरो गिद्ध अति सङ्कटापन्न मानिन्छन्। यो प्रजातिको गिद्धको नेपालमा सङ्ख्या क्रमशः ५००, दुई हजार र ७५ रहेको जनाइएको छ । यसै गरी रैथानेमै पर्ने सेतो गिद्ध, हिमाली गिद्ध, हाडफोर गिद्ध सङ्कटको नजिक रहेका बताइएको छ। 

नेपालमा खैरो गिद्ध, राज गिद्ध र लामो ठुँडे गिद्ध पाहुना गिद्ध मानिन्छन्। अति सङ्कटापन्न सूचीमा रहेका यी प्रजातिका गिद्ध घुम्दै आउने गरेको जनाइएको छ। नेपालमा डाइक्लोफेनेक बिक्री वितरण र प्रयोगमा निषेध गरिए पनि किटोप्रोफेन, निमेसुलाइडलगायतका औषधी अझै प्रयोग भइरहेका कारण संरक्षणमा अझै पनि चुनौती रहेको बिसिएनका फिल्ड अफिसर हिरूलाल डङ्गौराले बताए।

उनले सुदूरपश्चिममा रहेका गिद्धहरू बच्चा हुर्काउने बेला पनि नेपाल, भारतको विभिन्न क्षेत्रमा ओहोरदोहोर गर्ने गरेको देखिएको उल्लेख गरे। 'अहिले गौरक्षा केन्द्र रहेका क्षेत्रतिर गिद्धको उपस्थिति र गुँडको अवस्था राम्रो भएको देखिन्छ,'उनले भने। 

नेपालमा गिद्ध संरक्षणका लागि विभिन्न सात स्थानमा गिद्ध रेस्टुरेन्ट सञ्चालन गरिएको छ। जसले गिद्ध संरक्षणमा सहयोग पुगेको जनाइएको छ। कार्यक्रमका सहभागीले पनि गिद्ध संरक्षणमा सरोकारवाला सबैको हातेमालो हुनुपर्ने औँल्याएका छन्। नेपालमा पाँच वर्षीय कार्ययोजना बनाएर गिद्ध संरक्षण भइरहेको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता एवं वन अधिकृत भरत श्रेष्ठले चराले गुँड लगाएको रुख काट्न कानुनले पनि बन्देज गरेको उल्लेख गरे। संरक्षणकर्मी विजयराज श्रेष्ठले कैलालीमा विगतमा गरिएको गुलेली सङ्कलन अभियानले चरा संरक्षणमा सहयोग पुगेको बताए। 

कमेन्ट लोड गर्नुस