सुदूर नेपाललाई विश्वसँग जोड्दै

ठाडी भाकामा डिक्रादेवीको ८ बर्षपछि ‘कमब्याक’

२०७६ असार १९, ०७:०६ खबर संवाददाता

ठाडी भाकाकी क्विनको उपमा पाएकी डिक्रादेवी गाईने (वादी) लाई स्टुडीयोमा गीत गाउन छोडेको ८ बर्ष वितिसकेको थियो। तर २ पटक काठमाडौँ, एक पटक दिल्ली र अन्य सुदूरपश्चिममै आयोजना हुने मेला महोत्सवका मञ्चमा बर्ष, दुई बर्षमा उनको स्वर सुन्न पाईन्थ्यो। यद्यपी क्यासेटको जमाना हराएसंगै उनलाई भेट्टाउन भने निकै मुस्किल थियो। पहिले जस्तो क्यासेट विक्री गरेरै जिविका चलाउने अवस्था नरहेपछि उनले डेउडा संगीतमा निरन्तरता दिन सकेकी थिईनन्। 

तर झण्डै ८ वर्षपछि सञ्चारकर्मी केपी अनमोलले लेखेको ‘सुवा’ बोलको गीत गाएर डिक्रादेवी गायनमा फर्केकी छिन्। धनगढीमा बुधवार आयोजित एक कार्यक्रमकाबिच प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले उक्त गीत सार्बजनिक गरेका हुन्। अनमोल क्रिएटिभ मिडिया प्रालीले तयार पारेको उक्त गीतमा स्वर डिक्रादेवीको छ भने गीतमा शब्द, संगीत र भिडियो कन्सेप्ट अनमोल क्रिएटिभ मिडियाका प्रबन्ध निर्देशक पत्रकार अनमोलको रहेको छ। गीतको भिडियो रमेस बिजुली बिसीले निर्देशन गरेका हुन। राजेश बिकले छायांकन गरेको गीतको भिडियोमा बिसी, सविता सुनार, चाँदनी बोगटी, आयुश मिजार, सोनु बिक र सेतु बिकको अभिनय रहेको छ।

भिडियोको सम्पादन भने मीन रावलले गरेका छन्। प्रकाश नागरीले ड्रोन क्यामेरा मार्फत खिचेका रमणिय दृष्यहरु गीतको भिडियोमा देख्न सकिन्छ। डिक्राले दुई हजार भन्दा बढि डेउडा भाकाहरु स्वर दिईसकेकी छिन्। कैलाली जनपुस्तकालयका अध्यक्ष डाटिएन जोशीको अध्यक्षतामा भएको गीत विमोचन कार्यक्रममा डिक्रालाई सम्मान पत्र सहित दोसल्ला ओढाएर अभिनन्द समेत गरिएको छ। अनमोल क्रिएटिभ मिडियाले गरेको उक्त अभिन्न्दन कार्यक्रममा डिक्रालाई नगद आर्थिक सहयोग पनि जुटेको छ। उनको गृह नगर कञ्चनपुरको कृष्णपुर नगरपालीकाले ५१ हजार आर्थिक सहयोग र हुरीले क्षती गरेको घर मर्मतमा समेत सहयोग गर्ने घोषणा गरेको छ।

कार्यक्रममा डिक्रालाई कर्णाली अडियो भिडियो रेकर्डिङ स्टुडियो अत्तरियाले पनि १० हजार सहयोग गर्ने घोषणा गरेको छ। कार्यक्रममा प्रमुख अथिति सामाजिक विकास मन्त्री सुबेदी सहित नेकपा संसदिय दलका प्रमुख सचेतक तारा लामा तामाङ, धनगढी उप महानगरपालिकाका प्रमुख नृप वडले समेत डिक्राले सुदूरपश्चिमको लोक संस्कृतीमा पुर्याएको योगदानको कदर गर्दै आगामी दिनमा उनलाई आवश्यक सहयोग गर्ने बचन दिएका छन्। 
 

कमेन्ट लोड गर्नुस