अमेरिका र रुसले वार्तामा नबोलाएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आपत्ति

एजेन्सीः युक्रेनसँगको युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच हुने वार्तामा आफूलाई नबोलाइएको भन्दै युक्रेनले आपत्ति जनाएको छ।
युक्रेनका लागि अमेरिकी विशेष राजदूत किथ केलॉगले आज साउदी अरेबियामा हुने वार्तामा युक्रेनले भाग लिने बताउनुभएको थियो। तर यो वार्तामा युक्रोनको कुनै पनि प्रतिनिधिमण्डल उपस्थित नहुने बीबीसीले जनाएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन सामेल नभएको युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौता स्वीकार्य नहुने बताउनुभएको खबरमा उल्लेख छ।
यसअघि ह्वाइट हाउसका मध्यपूर्व प्रतिनिधि स्टिभ विटकफले हिजो साउदी अरेबियाको भ्रमण गर्ने पुष्टि गर्नुभएको थियो। उनको भ्रमणको उद्देश्य युक्रेनमा चलिरहेको युद्ध अन्त्य गर्न अमेरिका र रुसबीचको पहिलो वार्ता हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्ध अन्त्य गर्ने बारेमा फोनमा कुरा गर्नुभएको थियो। यसपछि उनले छलफल अगाडि बढाउन दुवै जना चाँडै भेट्ने बताएपछि युक्रेन र युद्धका बारेमा छलफल तीव्र भएको हो।



