कञ्चनपुरस्तिथ महेन्द्र राजमार्गको बाढीले बगाएको पुल निर्माण हुँदै
धनगढी : कञ्चनपुरस्थित महेन्द्र राजमार्गको बाढीले बगाएको पुल निर्माण हुँदैछ। जिल्लाको वेदकोट नगरपालिका–७ सुडामा पुल(कलभर्ट) निर्माणको ५० प्रतिशत काम पूरा भएको हो।
सडक डिभिजन कार्यालय, महेन्द्रनगरले २ करोडमा पुल निर्माणका लागि गत मङ्सिरमा ठेक्का सम्झौता गरेको थियो। निर्माण कम्पनीले १२ मिटर लामो पुलको ५० प्रतिशत काम हालसम्म पूरा गरेको हो।
सुडाको हजारा खोलामा बाढीले बगाएको महेन्द्र राजमार्गको पुलको काम चैत मसान्त भित्र पूरा हुने सडक डिभिजनले बताएको छ। सडक डिभिजन कार्यालय, महेन्द्रनगरका प्रमुख राजेशकुमार यादवले पुलको ५० प्रतिशत काम हालसम्म सकिएको बताए। उनले भने, ‘बर्सातको पानीले कल्भर्ट बगायो। हामीले निर्माणका लागि मङ्सिरमा सम्झौता गरेको हो। चैतसम्मका लागि समय छ। अहिलेसम्म ५० प्रतिशत काम भएको छ।’
खोलामा पानीको सतह बढेपछि महेन्द्र राजमार्गको पुल भत्किएको थियो। तीन दिनसम्म भएको वर्षाले कञ्चनपुरमा ठुलो क्षति गरेको हो। वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले असारमा परेको ठुलो वर्षाले पुल लगाएतका संरचनाहरूमा क्षति गरेको बताए। उनले वर्षातले बगाएको पुल निर्माणको काम थालिएको बताए। उनले भने, ‘सुडाको कलभर्ट टुटेको थियो। केही दिन राजमार्ग बन्द भयो। अहिले सडक डिभिजनले काम गर्दै छ। द्रुतगतिमा काम हुँदैछ।’
पुलको माथिल्लो भागको काम मात्र बाँकी रहेको सडक डिभिजन कार्यालय, महेन्द्रनगरले बताएको छ।