सुदूर नेपाललाई विश्वसँग जोड्दै

कलौनी मृत्यु प्रकरण : गृहमन्त्री लेखक पुगे कञ्चनपुर

२०८१ माघ १९, ०८:०७ खबर संवाददाता

धनगढी : भीमदत्त नगरपालिकाका काँग्रेस नगर सभापति अच्युतराज कलौनी मृत फेला परेपछि गृहमन्त्री रमेश लेखक कञ्चनपुर आएका छन्।

काँग्रेस नगर सभापति कलौनी शनिवार बिहान भीमदत्त नगरपालिका–१८ को वडा कार्यालय नजिक मृत फेला परेपछि उनी कञ्चनपुर आएका हुन्।

गृहमन्त्री लेखकले कलौनीका बुवा जनकराजसँग भेट गरेका छन्। गृहमन्त्रीसँगको भेटका क्रममा जनकराजले छोराको हत्या भएको आशँका गरेका छन। उनले गृहमन्त्रीसँग भने, ‘घटना कतै भएको हो। यता फालेको हो कि भन्ने शँका छ। नाम तोक्ने त कसको तोक्ने। राति ३ बजे हिँडेर आएको छ। कसैले मार्नको लागि बोलाएको हो कि ?’

लेखकसँग उनले छोराको शव फेला परेको स्थानको घर लामो समयदेखि खाली रहेको बताए। घर लामो समयसम्म बाँझो रहेको र घरको बारेमा थाहा हुनेले हत्या गरेर फालेको हुन सक्ने उनले आशँका गरेका हुन। अच्युत शनिवार बिहान मृत फेला परेका थिए। तर, उनको शरीरमा शीत नरहेको जनकराजले गृहमन्त्रीसँग भनेका छन्। छोराले प्रयोग गर्ने मोबाइल फेला नपरेकाले थप आशँका उत्पन्न भएको उनले बताए।

गृहमन्त्री लेखकले कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीसँग घटनाका बारेमा जानकारी लिएका छन्। घटनालाई सबै कोणबाट अनुसन्धान गर्न उनले निर्देशन दिएका छन्। अच्युतको शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

 

कमेन्ट लोड गर्नुस