रानी जमरा कुलरीया सिँचाइ आयोजनामा २० अर्ब खर्च, १५ अर्ब थप माग

धनगढी : राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाइ आयोजना कैलालीको ठुलो आयोजना हो।
कर्णाली नदीको पानी पूर्वी कैलालीको खेती सिँचाइका लागि ल्याउन थालिएको १५ वर्ष भयो। सिँचाइ संरचना निर्माण र विद्युत् उत्पादनका उपकरण जडानमा हालसम्म २० अर्ब खर्च भएको छ। रानी जमरा कुलरीया सिँचाइ आयोजना, कैलालीका सूचना अधिकारी नविन पौडेलले २७ अर्बमा २० अर्ब खर्च भएको बताए। उनले भने, ‘स्वीकृति खरिद २७ अर्ब हो। अहिलेसम्म २० अर्ब खर्च भएको छ। विद्युत्सम्मको नौ किलोमिटर, १२ किलोमिटर फिडर नहर र लम्की तिरको १४ किलोमिटर नगर बनेको छ। अन्य साना कामहरू पनि भएका छन्।’
आर्थिक वर्ष २०६६/६७ सालमा विश्व बैँकको ऋण सहयोगमा नेपाल सरकारले सिँचाइ कुलो निर्माणको ठेक्का गरेको हो। रानी जमरा कुलरिया सिँचाइ प्रणालीको १४ हजार तीन सय हेक्टर र लम्की क्षेत्रको नगरबाट ६ हजार हेक्टर खेत सिँचाइको लक्ष्य छ। कैलालीको कान्द्रा नदीसम्मको १८ हजार हेक्टर गरेर ३८ हजार तीन सय हेक्टरमा सिँचाइको सुविधाका लागि आयोजनाको लक्ष्य छ।

तर, नेपाल सरकारले २० हजार तीन सय हेक्टर क्षेत्रमा सिँचाइ सुविधा २०८०/०८१ सम्म काम सक्न भनेको थियो। २०७४ चैत १५ गते २७ अर्ब ७० करोड २५ लाखको खरिद गुरुयोजना स्वीकृत भएको हो। हालसम्म २० अर्ब खर्च भएको छ।

नेपाल सरकारको लगानीमा इन्टेक निर्माणको काम सकिएको छ। मूल नहरको ९ किलोमिटर निर्माण गरिएको छ। चार दशमलव ७१ मेगावाटको विद्युत् निर्माण गरिएको छ। लम्की क्षेत्रको १४ दशमलव ६५ किलोमिटर नहर निर्माण गरिएको छ। अन्य सिँचाइ कुलाका संरचनाहरू पनि निर्माण गरिएका छन्।

सन २०२५ जुलाई १५ सम्म काम पूरा गर्ने विश्व बैँकसँग सम्झौता गरिएको छ। आयोजनाको ७५ प्रतिशत काम पूरा भएको छ। फेरि विश्व बैँकसँग १८ किलोमिटर नहर निर्माण गर्ने भन्दै १५ अर्ब बजेट माग गरिएको छ। तर, विश्व बैँकले स्वीकृति दिएको छैन। पौडेलले भने, ‘पथरैयादेखि कान्द्रसम्मको १८ किलोमिटरको तयारी छ। पूर्व तयारीमा छौ। विश्व बैँकको ऋण सहयोग हो। अहिलेसम्म स्वीकृति भएको छैन।’
रानी जमरा कुलरीया सिँचाइ आयोजनाको मुख्य नहर, शाखा नगर, विद्युत् संरचनाको काम पूरा भएपनि शाखा नहर तथा कुलोहरूको काम पूरा भएको छैन।