त्रिवेणी महोत्सव : आकर्षण बन्यो कर्णाली नदीमा मोटर बोट

धनगढी : कैलालीको मोहन्या गाउँपालिका–७ चिप्लेमा त्रिवेणी महोत्सव सञ्चालन भइरहेको छ। महोत्सव स्थलमा ६ वटा मोटर बोटहरू छन्।
कर्णाली नदीमा सञ्चालन हुने मोटर बोटहरू महोत्सवकै आकर्षण बनेका छन्। महोत्सवमा किनमेल र गीत सङ्गीतसँगै कर्णाली नदीमा मोटर बोटको अनुभव लिन पनि मानिसहरू पुग्ने गरेका छन।
चिप्लेमा पहिलो पटक र त्यसैमा सस्तो शुल्कमा मोटर बोट चढ्न पाइने भएकाले धेरै जना आकर्षित भएका महोत्सव आयोजकले बताएको छ। महोत्सव मूल आयोजक समितिका संयोजक वीरेन्द्र बहादुर रावलले टिकट लिएर महोत्सव भित्र प्रवेश गरेका दर्शकहरूले पनि सहजै मोटर बोट चढ्न सक्ने गरी व्यवस्थापनमा लागेको बताए। त्रिवेणी धाममा धार्मिक पर्यटन तथा कर्णाली नदीमा जलयात्राको सम्भावना भएकाले यसतर्फ पनि सरकारको ध्यान जान आवश्यक रहेको उनले बताए।
महोत्सवको आकर्षण र सुल्क समेत सस्तो भएकाले पनि दर्शकहरू मोटर बोट तर्फ आकर्षित भएको हुन सक्ने मोटर बोट सञ्चालक पवन रावलको ठहर छ। चिसापानी पुलमा प्रतिव्यक्ति पाँच सय, आठ सय र हजार गरी विभिन्न प्याकेजमा मोटर बोट सञ्चालनमा रहेको छ। तर, महोत्सव स्थलमा २ सयमा मोटर बोट चढ्न पाइन्छ।

मोटर बोटको आनन्द लिन कैलाली, सुर्खेत र डोटीका मानिसहरू पुग्ने गरेका छन्।
