सुदूरपश्चिम सरकारले धनगढीमा पाँच दिन कृषि तथा पशुपन्छी प्रदर्शनी गर्दै

धनगढीः सुदूरपश्चिम सरकारले पहिलो पटक प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला तथा प्रदर्शनी गर्ने भएको छ।
माघ २६ देखि ३० गतेसम्म कृषि तथा पशुपन्छी प्रदर्शनी हुने भाएको हो। धनगढी उपमहानगरपालिका–१ पशुपति टोलको खुला मैदानमा हुने प्रदर्शनीमा सुदूरपश्चिमका ९ जिल्लाका कृषकहरूलाई निःशुल्क स्टल उपलब्ध गराइने छ। प्रदेश सरकारले कृषिमा गरेको लगानीको प्रतिफलको मूल्याङ्कन गर्न र थप सम्भावनाको खोजी गर्न कृषि प्रदर्शनी गरिन लागेको प्रदेश कृषि निर्देशक खगेन्द्रप्रसाद शर्माले बताए।
महोत्सव ५ दिनसम्म चल्ने
सुदूरपश्चिम सरकारले पहिलो पटक कृषि तथा पशुपन्छी प्रदर्शनी गर्न लागेको हो। प्रदेश सरकारले कृषि क्षेत्रमा हालसम्म गरेको उपलब्धि देखाउन मेला आयोजना गरिन लागेको छ।

प्रदेश सरकारले केही गरेन भन्ने जनगुनासो सुनिन थालेकाले त्यसलाई चिर्न मेला आयोजना गरिन लागेको कृषि निर्देशक शर्माले बताए। ‘माघ २६ देखि ३० गते ५ दिनसम्म कृषि तथा पशुपन्छी मेला गर्न लागिएको छ। प्रदेश सरकारले प्रदान गरेको अनुदान र किसान आफैँले उत्पादन गरेको कृषि उपज प्रदर्शनी राखिने छ,’ निर्देशक शर्माले भने।

स्टल निःशुल्क दिइने
मेलामा ९ वटै जिल्लामा उत्पादन भएका कृषि उपजको प्रदर्शनी गरिने छ। मेलामा हरेक दिन कृषि सम्बन्धी नवीनतम प्रविधिको विषयमा जानकारी दिइने छ। कृषि विज्ञहरूसँग कृषकलाई राखेर कृषि तथा पशुपन्छी क्षेत्रमा नवीनतम प्रविधि र अनुसन्धान बारे बहस र छलफल गरिने छ।
मेलाले बजार नपाएको भन्ने किसानको गुनासो र खोजेको कृषि उपज पाइएन भन्ने उपभोक्ताको गुनासोलाई पनि सम्बोधन गर्ने प्रयास गरिने निर्देशक शर्माले बताए। ‘मेलामा एक सय ५० स्टल राखिने र सबै स्टल कृषकलाई निःशुल्क उपलब्ध गराइने छ,’ उनले भने, ‘मेला सञ्चालनका लागि कृषि विकास निर्देशनालयले ३५ लाख बजेट छुट्याएको छ। मेलामा विभिन्न विधाका कृषकलाई पुरस्कृतसमेत गरिने छ।’ सुदूरपश्चिमका रैथाने र अर्गानिक कृषि उपज र खानाको परिकारको समेत मेलाका माध्यमबाट प्रचारप्रसार गरिने उद्देश्य रहेको निर्देशक शर्माले बताए।
उनले मेलाको माध्यमबाट किसान, कृषि उपज, उपभोक्ता र कृषि विज्ञहरूलाई एकै स्थानमा ल्याएर कृषि क्षेत्रको उपलब्धि र सम्भावनाको खोजी गरिने बताए। रैथाने कृषि उपजको प्रवर्धन गर्दै उत्पादन र उपभोगसमेत बढाउन मेला सहयोगी हुने ठानिएको छ,