सुदूरपश्चिम प्रदेश सभाको चार महिनापछि बैठक बस्दै
धनगढी : सुदूरपश्चिम प्रदेशसभाको बैठक चार महिनापछि बस्ने भएको छ। माघ ६ गतेका लागि प्रदेशसभाको बैठक बोलाइएको हो।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले माघ ६ गते बिहान ११ बजेका लागि बैठक बोलाइएको बताए। उनले प्रदेश सभाका समितिका सभापति हेरफेर र निर्वाचनको मिति तोक्ने कार्यतालिका रहेको बताए।
गत असोज ५ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेट पारित भएपछि प्रदेशसभाको बैठक बस्न सकेको थिएन। प्रदेश सरकारले स्थानीय सरकार सञ्चालन ऐन ल्याउने समेत तयारी गरेको छ।
प्रदेश सभा विधायन समितिका सभापति दिवान सिङ विष्टले ऐन ल्याउन समितिले स्थानीय तहका जनप्रतिनिधि सँग सुझाव सङ्कलन गरेको र ऐन ल्याउने अन्तिम तयारीमा रहेको बताए।