छाडा पशुचौपाया व्यवस्थापन नहुँदा कैलालीका कृषक हैरान
कैलालीः जिल्लामा छाडा पशुचौपाया व्यवस्थापन अझै हुन सकेको छैन। छाडा पशु चौपाया व्यवस्थापन नहुँदा कृषक हैरान भएका छन्।
दुध दिउन्जेलसम्म गाई पाल्ने र दुध दिन छाडेपछि जथाभावी छाड्ने प्रवृत्ति नरोकिएकाले चौपाया व्यवस्थापनमा चुनौती बढ्दै गएको हो। छाडा पशु व्यवस्थापनमा समस्या भएको धनगढी उपमहानगरपालिका—३ चटकपुरस्थित गौ संरक्षण सेवा समितिका अध्यक्ष भोजराज पाठकले बताए। पहिले यहाँका स्थानीयका प्रत्येक घरमा दुध खानका लागि गाई पाल्दथे। सोही गाईबाट जन्मिएको गोरु कृषकले खेत जोत्न प्रयोग गर्थे।
कृषि प्रणालीमा भएको आधुनिकीकरणसँगै गोरुको प्रयोग गर्ने घटे। जसले गर्दा पशुचौपाया छाडने प्रवृत्ति हट्न नसकेको अध्यक्ष पाठकको भनाइ छ। उनले छाडा पशुचौपायाको पूर्ण व्यवस्थापन गर्न कसैले व्यक्तिगत रुपमा नलिई सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए। छाडा पशुचौपायाले यहाँका किसानले हैरानी खेप्दै आएका छन्। उनीहरुलाई बाली तथा तरकारी जोगाउन सकस छ।
पशु कल्याण समिति धनगढीका अध्यक्ष चेतराज अवस्थीले गोठमा पालेका गाई–गोरु छाड्ने कार्य नरोकिएकाले बजारमा सडक दुर्घटनाको जोखिम भएको बताए। धनगढीको ६ लेन सडकमा दैनिक एक दुई गाईगोरु गाडी दुर्घटनाबाट मर्ने तथा घाइते हुने गरेका छन्। छाडा चौपाया दिनभर बजारलगायत क्षेत्रमा डुल्ने र रात परेपछि खेतबारीको बालीनाली, तरकारीमा चर्ने गरेको स्थानीय कृषक टेक जोराको भनाइ छ।
धनगढी उपमहानगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि वडा नम्बर ७ स्थित देवहरियामा गौशाला निर्माण गरिएको छ। धनगढी–३ चटकपुरमा पनि केही वर्षअगाडिदेखि गौ संरक्षण सेवा समितिले गौशाला सञ्चालनमा ल्याई छाडा पशु व्यवस्थापन गरिएको छ। त्यसैगरी धनगढीको फूलबारी र बेहडाबाबामा गौशाला सञ्चालनमा ल्याइएको छ। जिल्लाका विभिन्न स्थानमा काञ्जिहाउस समेत निर्माण गरिएका छन्। छिमेकी राष्ट्र भारतीय सीमा नाकाबाट पनि चौपाया भित्रिने क्रम नरोकिएकाले व्यवस्थापनमा चुनौती थपिएको स्थानीयको भनाइ छ। –रासस