एकाबिहानै भूकम्पः प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह
काठमाडौँ: एकाबिहानै भूकम्पको धक्का गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गरेका छन्।
‘शुभप्रभात! हिजोआज विभिन्न भागमा ससाना भूकम्पका धक्का आइरहेका छन्। सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला’, प्रधानमन्त्रीले मंगलबार आफ्नो फेसबुकमार्फत भनेका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहानको भूकम्प चीन केन्द्रबिन्दु भएर गएको जनाएको छ।
बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ। यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ। बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँबासी होहल्लासहित घरबाहिर निस्केका थिए।