बाख्राको बीमा गरेकी ऐरलाई शिखर इन्स्योरेन्सबाट धोका
कैलालीमा पशु बीमाको नाममा किसान ठगिँदै
धनगढीः कैलालीमा पशु बीमाको नाममा किसान ठगिएको विषय बाहिर आएको छ। कैलालीको गोदावरी नगरपालिका–५ की द्रोपति ऐरलाई बीमा कम्पनीले झुक्याएको हो।
२०८० असोज २४ गते ऐरले बाख्राको बीमा गरेकी थिइन्। शिखर इन्स्योरेन्सले बाख्राको बीमा गरेको हो। बाख्राको बीमा गरेकी ऐरलाई शिखर इन्स्योरेन्सबाट धोका भएको छ। गत असोजमा ऐरले बीमा नवीकरण गर्न जाँदा शिखर इन्स्योरेन्सका अधिकारीले नवीकरण नगरेका हुन्। कम्पनीले बीमा नवीकरण नगरेका कारण ऐरले बाख्रो मर्दा समेत भुक्तानी नपाएकी हुन्।
शिखर इन्स्योरेन्स कम्पनी लिमेटेडका अभिकर्ता खगेन्द्रप्रसाद फुलाराले २०८० असोज २४ गते घरमै पुगेर गोदावरी–५ की द्रोपति ऐरको बाख्राको बीमा गरेका थिए। सुरूमा बीमा गर्न घरमै पुगेका अभिकर्ता फुलाराले दोस्रो किस्ता बुझ्न २०८१ असोज २४ गते अगावै ऐरको घरमा आउने आश्वासन दिएका थिए। तर अभिकर्ता फुलारा नवीकरण गर्न नआएपछि सेवाग्राही ऐरले शिखर इन्स्योरेन्सको धनगढीस्थित कार्यालयमा सम्पर्क राखिन।
कार्यालले बीमा नवीकरण गर्न बन्द गरिएको जनायो। जसले गर्दा ऐरले बाख्राको बीमा नवीकरण गर्न पाएनन्। सुरूमा प्रिमियम उठाउँदा हरेक वर्ष घरमै आउने भनिएकोमा नवीकरण गर्न खोज्दा पनि बीमा कम्पनीले सहयोग नगर्दा बाख्रा मर्दा पनि बीमा कम्पनीबाट रकम नपाएको ऐरले गुनासो गरिन्। ‘बीमा गर्या थिए, पैसा दिएन। एक वर्ष भया, रिन्यु गद्द नाइआया, बन्द होइगयो कम्पनी भन्यो,’ उनले भनिन्, ‘पुसा ११ गते बाख्रो मर्यो, फोटो खिचिबटी पठाया, आब नाइहुने हो भन्यो।’
ऐरले बीमा नवीकरण गर्न खोज्दा पनि शिखर इन्स्योरेन्सका अधिकारीहरूले सहयोग नगरेको गुनासो गरेकी छन्। पुस ११ गते ऐरको बाख्रा मर्दा इन्स्योरेन्स कम्पनीले बीमा नवीकरण नगरेकाले बीमा दाबी गर्न असमर्थ रहेको बताएको छ। समयमै बीमा नवीकरण नभएकाले ऐरको दाबी नै नपुग्ने शिखर इन्स्योरेन्स धनगढीका प्रवन्धक डिल्लीराज शर्माले बताए। उनले बीमा सकिएको अवस्थामा क्लेम पर्यो भने बीमा रकम भुक्तानी गर्न नसकिने बताए। ‘बीमा बहाल रहेको अवस्थामा क्लेम परेपछि क्लेम पाउने हो।
बीमा भनेको ३६४ दिन आधा रातसम्म कभर गर्छ, अर्को दिन बीमा भएन भने त्यो पलिसी एक्सपायर हुन्छ,’ उनले भने, ‘त्यतिबेला कृषि बीमा रोकिएको कारणले गर्दा रिन्यु गर्न पाएनौँ। अहिले फेरि खुलेको छ।’ कृषि बीमा गर्ने किसानले बीमा कम्पनीबाट भुक्तानी लिन समस्या हुने गरेको गुनासो गर्दै आएका छन्। सरकारले कैलालीमा राष्ट्रिय बीमा कम्पनीलाई कृषि तथा पशु बीमा गर्ने जिम्मेवारी तोकेको छ।
सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीले अनीवार्य बीमा गर्ने र नवीकरण गर्नुपर्ने भए पनि अन्य बीमा कम्पनीलाई बीमा गर्न र नवीकरण गर्न बाध्यकारी नियम नभएकाले यही छुटको फाइदा शिखर इन्स्योरेन्स कम्पनीले लिएको हो। कैलालीका किसानहरूलाई बीमा सम्बन्धी समस्या आए धनगढीमै रहेको नेपाल बीमा प्राधिकरणको कार्यालयमा लिखित या मौखिक उजुरी गर्न बीमा प्राधिकरणले आग्रह गरेको छ।
कैलालीको हकमा राष्ट्रिय बीमा कम्पनीबाट कृषि बीमा गर्दा समस्या नआउने र अभिकर्ता या कम्पनीले बदमासी गरे कारबाही गरिने नेपाल बीमा प्राधिकरण धनगढीका प्रमुख हृदयश्वर पण्डितले बताए। उनले बीमा कम्पनीहरूले पलिसी रिन्यु गर्न पर्ने बताएका छन्। ‘पलिसी रिन्यु गर्न पर्छ। रिटन कम्प्लेन आयो भने हामी किन नगर्या भनेर सोध्छौँ।
तत्कालै मानेन भनेर जानकारी पाएको भए तत्कालै एक्सन लिन्थ्यौँ,’ उनले भने, ‘अहिले पनि कोही ग्राहकले रिन्यु गराउन नपाएको छ भने लिखित या मौखिक जानकारी पाए तत्कालै सम्बन्धित बीमा कम्पनीलाई सोधि हाल्छौँ र बीमा हुन्छ।’ गोदावरी–५ की ऐरले एक बाख्राको १५ हजारको बीमा गरेकी हुन्। उनले पहिलो किस्ता एक हजार २७० रुपैयाँ शिखर इन्स्योरेन्स कम्पनीलाई भुक्तानी गरे पनि दोस्रो पटक नवीकरण गर्न जाँदा कम्पनीले सहयोग नगरेको गुनासो गरेकी छन्।