सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मनोमानी नदी दोहनका कारण पुलहरू धरापमा

२०८१ पुष २१, १०:२५ नारायण अवस्थी

धनगढीः कैलालीमा मनोमानी नदी दोहनका कारण पुलहरू धरापमा परेका छन्।

महेन्द्र राजमार्ग लगायतका सडकका पुलको मुनिबाट मापदण्डविपरीत नदी दोहन गर्ने प्रवृत्तिका कारण जोखिम बढेको छ। स्थानीय तहहरूले नदीको मापदण्ड पालना गर्न नसकेका कारण भौतिक संरचनामा क्षति हुने जोखिम बढेको छ। यसका साथै धनगढी उपमहानगरपालिका–१७ धुर्जन्ना र गोदावरी नगरपालिका–९ सेहरीको झोलुङ्गे पुलका इट्टाहरूसमेत गायब भएको जिल्ला समन्वय समिति कैलालीले बताएको छ।

जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी विमल जोशीले भने, ‘गोदावरी र धनगढीको सीमाना धनचौरीको झोलुङ्गे पुल, सेहरीको पुल, पथरीको पक्की पुल, महेन्द्र राजमार्गको पुल जोखिममा देखियो। पुल मुनिबाट उत्खनन् हुँदैछ। पुलहरू धरापमा छन्। राज्यको ठुलो लगानी छ। पूर्वाधार संरचनाहरूको संरक्षण भएन।’ धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले पुलहरूको सुरक्षासमेत गर्न सकेका छैनन्।

धनगढी उपमहानगरपालिकाको सीमा क्षेत्रका २ वटा झोलुङ्गे पुल र एक पक्की पुल नदी दोहनका कारण धरापमा छन्। गोदावरी नगरपालिका–८ को खुटिया नदीमा बनेको महेन्द्र राजमार्गको पक्की पुलसमेत नदी दोहनका कारण धरापमा छ।  नदीमा हुने नियम विपरीतको उत्खनन्ले पुलहरू धरापमा परेका छन्। धनगढीको पथरीमा रहेको पक्की पुल, धनचौरी र सेहरीमा रहेका झोलुङ्गे पुलहरू नदीको दोहनका कारण जोखिममा छन्।

महेन्द्र राजमार्गको खुटिया नदीको पक्की पुलसमेत नदी दोहनका कारण जोखिममा छ। पुलको उत्तरतिर पाँच सय मिटर र दक्षिणतिर एक हजार मिटर क्षेत्रभित्रबाट नदीजन्य पदार्थ सङ्कलन तथा बिक्री, वितरण गर्न नहुने मापदण्ड रहेको छ। तर, नदीमा हुने मनोमानी दोहनका कारण पुलहरू संकटमा रहेका हुन्। कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले स्थानीय तहहरूले ध्यान नदिएको बताए।

उनले भने, ‘अनुगमन गर्नुपर्ने निकाय अथवा नियन्त्रण गर्नुपर्ने निकायबाट नियन्त्रण नभएको हो की भन्ने छ? पालिकाका प्रमुखहरूलाई सहयोग गर्न, समन्वय गर्न तयार छौ भनेकै हो।’ धनगढी उपमहानगरपालिका–१७ पथरी र गोदावरी नगरपालिका–९ सेहरीको पुलका इँटाहरूसमेत स्थानीयले घर लगेका छन्। झोलुङ्गे पुलमा प्रयोग भएका इँटा स्थानीयले घरको नक्लामा प्रयोग गरेका हुन।

मनोमानी हुने नदी दोहनका कारण पुल जोखिममा रहेका बेला स्थानीय तहहरूले सुरक्षा गर्न सकिरहेका छैनन्। स्थानीय तहहरूले पुलहरूको सुरक्षामा ध्यान नदिएको भन्दै जिल्ला समन्वय समितिले परिपत्र गर्ने निर्णय गरेको छ। जोशीले भने, ‘सबै स्थानीय तहहरूलाई परिपत्र गर्दैछौ। धनचौरीमा इँटासमेत घर लगेको देखिएको छ। स्थानीय तहहरूले त्योतिर पनि ध्यान दिनुपर्ने छ।’

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस