सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैदेशिक रोजगारीमा अनिवार्य सीप प्रमाणीकरणको व्यवस्था तत्काल नगरिने

। फोटो स्रोत ।
२०७६ असार १२, १२:२१

असार १५ देखि विदेश जाने यूवाको अनिवार्य सीप प्रमाणीकरण गरिने व्यवस्था तत्काललाई कार्यान्वयन नहुने भएको छ। प्राविधिक तयारी नपुगेकाले सीप प्रमाणीकरण तत्काललाई कार्यान्वयन नगरिने वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भूसालले जानकारी दिए। उनले भने, ‘विभागले आफ्नो हिसाबले तयारी पूरा र्गयो, तर तालिम प्रदायक संस्था र जाँच गर्ने निकायबीच समन्वय गराउन बाँकी छ, यो काम सकिएपछि यो व्यवस्था लागू हुन्छ।’ 

उपत्यका बाहिर पनि तालिम प्रदायक संस्थाको व्यवस्था गर्नका लागि तालिम आवेदन माग गरिएको र आवेदनका आधारमा कागजपत्र पुगेकालाई सूचीकृत गर्ने काम भइरहेको जानकारी दिए। तालिमका लागि १५४ वटा संस्थाले आवेदन दिएका र छनोटको प्रक्रिया चलिरहेको पनि उनले बताए।

हाउस वायरिङ तथा इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेसन, स्टिल फिक्चर्स, हाउस किपिङ तथा क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गार्मेन्ट तथा टेलरिङ र प्लम्बिङको काम गर्न जाने कामदारले अनिवार्य रुपमा सीप सिकेको प्रमाणपत्र पेश गर्न पर्ने व्यवस्था लागू गर्न लागिएको थियो। वैदेशिक रोजगारीमा जानेमध्ये धेरै कामदार अदक्ष भएका कारण असुरक्षा बढी हुने गरेको छ।

विभागको तथ्याँकअनुसार गएको महिना मात्रै २६ हजार ८२५ जना पुरुष र १ हजार ७२५ जना महिला गरी २८ हजार ५५० जना अदक्ष कामदार विदेशिएका छन्। यसरी विदेश जानेमा उच्च सीप भएका कामदारको संख्या भने निकै कम छ। वैशाखमा जम्मा १७ जना मात्रै उच्च सीप भएका कामदार विदेश छन्। यस्ता कामदार सामान्य मजदुर, हेल्पर, मेसन, निर्माण, सरसफाइ लगायत श्रम गर्न बाध्य छन्। सीप तथा दक्षता आवश्यक नहुने यस्ता क्षेत्रमा असुरक्षा बढी हुने गर्छ।
 

कमेन्ट लोड गर्नुस