धनगढीका तिलकले बोन्साइ प्रविधिबाट फुलाए एउटै बोटमा थरीथरीका फूल
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–२ बैयाँबेहडीका तिलक सिंहले बोन्साइ प्रविधिबाट गमला उत्पादन गरेका छन्। सिंहले ९ वर्षको अभ्यासपछि उत्पादित गमला प्रदर्शनीमा राखेका हुन्।
धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा बोन्साइ प्रविधि प्रयोग गरि तयार गरिएका गमला प्रदर्शनीमा राखिएको छ। सिंहले एउटै बिरुवामा सप्तरङ्गी फूल फुलाएका छन्। जापानबाट विकसित भएको प्रविधि अन्य युवा किसानहरूले समेत सिकेर राम्रो आम्दानी गर्न सक्ने उनको तर्क छ।
नौ वर्षदेखि रिसर्च गर्दै सिंह
सिंहले धनगढी–२ बैयाबेहडीमा गंगा जमुना बोन्साइ रिसर्च सेन्टर खोलेर अहिलेसम्म १३ प्रकारका रङ्गीचङ्गी गमला तयार गरेका छन्। सिंहले ९ वर्षदेखि तयार गरेका गमला यो वर्ष सुदूरपश्चिम महोत्सवमा पहिलो पटक सार्वजनिक प्रदर्शनीका लागि राखेका हुन्। जनमोर्चाका नेतासमेत रहेका सिंहले युट्युबमा राखिएको भिडियो हेरेरै जापानमा प्रचलित गमला उत्पादन गर्ने बोन्जाइ प्रविधि सिक्दै थरीथरीका गमला तयार गरेका हुन्।
उनले एकजना जापानी प्राध्यापकको भिडियो हेरेर प्रविधिको अभ्यास र अनुसन्धान गर्न थालेको बताए। ‘मैले एक जना जापानी प्राध्यापकको भिडियो हेरेर यो प्रविधिको विषयमा जानकारी हासिल गरेको हुँ। अहिले मैले अभ्यास गर्न थालेको नौ वर्ष भयो’, उनले भने, ‘अहिलेसम्म १३ किसिमको बिरुवामा बोन्साइ प्रविधि सफल भएको छ। एकै बिरुवामा थरीथरीका फूल फुलाउने यो प्रविधिको प्रदर्शनी पहिलो पटक राखिएको हो।’
के हो बोन्साइ प्रविधि?
सानो भाडोमा ठूलो बिरुवा राखेर गमलाको रुपमा बिकास गर्ने प्रविधि नै बोन्साइ प्रविधि हो। यो प्रविधिमा गमलाको उचाइ ढाइ इन्चदेखि ढाइ फिटसम्म मात्रै हुन्छ। जापानबाट विकास भएको यो प्रविधिबाट एउटै बिरुवामा सप्तरङ्गी फूल फुलाउन सकिन्छ। पिपल, वर, सल्ला, बेगमबेली र समि प्रजातिका सदावहार बिरुवामा बोन्साइ प्रविधि अनुसार गमला उत्पादन गर्न सजिलो हुने सिंहले बताए।
‘बोन्साइ प्रविधि जापानसहित विदेशमा निकै प्रचलित छ। यो प्रविधि अनुसार विकास गरेका गमला धेरै वर्षसम्म रहन्छन्’, उनले भने फूल तथा गमलाप्रेमीका लागि बोन्साइ प्रविधिबाट उत्पादित गमला रुचि र छनोटमा पर्छन्। मैले गमला बिक्रीमा समेत राखेको छुँ।’ ९ वर्षदेखि बोन्साइ प्रविधिको अभ्यास गरिरहेको बताउने सिंहले आफ्नो प्रयोग सफल भएको बताए।
प्रदर्शनीमा राखिएका गमलाको मूल्य १० हजारसम्म रहेको बताउने सिंहले युवाहरूले यो प्रविधि सिकून भन्ने चाहना छ। नेपालमै पहिलोपटक बोन्साइ प्रविधिको कृषि प्रदर्शनी राखेको बताउने सिंहसँग पुष्प व्यवसायी किसानले प्रविधि सिकाउन आग्रह गरेका छन्। सिंहले आफूले अभ्यास गरेको प्रविधि युवाहरूले सिके स्वदेशमै राम्रो कमाइ गर्न सकिने बताए। ‘गमलाको मूल्य बढी किन राखेको भन्ने प्रश्न गरिन्छ।
मैले युवाले प्रविधि सिकेर काम गरी स्वदेशमै कमाइ गर्ने सोच बनाउन भनेर मूल्य अधिक राखेको हुँ’, उनले भने, ‘पुष्प व्यवसायी किसानले प्रविधिका बारेमा जिज्ञासा राखेका छन्। यो प्रविधि राम्रो छ। आम्दानी पनि राम्रै हुन्छ।’ बोन्साइ प्रविधिबाट उत्पादित गमला लामो समयसम्म बाच्ने, एकै बिरुवामा धेरै थरी फूल फुल्ने भएकाले गमला र फूल प्रेमीको रोजाइमा पर्ने विश्वास सिंहको छ। उनले अन्य किसानलाई समेत प्रविधि सिकाउने र आफूले उत्पादन गरेका गमला बिक्री गर्ने बताएका छन्।