सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
धनगढीः नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले सरकार विघटन र असफल हुने छुट नरहेको बताएका छन्। शुत्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले प्रमुख दुई दल (नेपाली काँग्रेस र एमाले) को सरकारले सुशासन, विकास र जनताका पक्षमा राम्रो काम गर्नुपर्ने बताए।
सञ्चारकर्मीको जिज्ञासामा नेता कोइरालाले भने, ‘काँग्रेस र एमालेबिच सात बुँदे समझदारी भएर गठन भएको सरकार किन ढल्छ, सरकारले राम्रो काम गर्नुपर्छ भन्ने हो, सरकारलाई असफल हुने छुट छैन।’ नेता कोइरालाले पार्टीको १५ औ महाधिवेशनमा आफ्नो सभापतिमा दाबी स्वभाविक भएको बताए। उनले पार्टी सभापति शेरबहादुर देउवा र आफूबिचको सम्बन्ध राम्रो रहेको दाबी समेत गरेका छन्।