सुदूरपश्चिममा सम्बन्ध विच्छेद गर्न २ हजार ८६२ जनाले गराए फिराद दर्ता
धनगढीः सुदूरपश्चिममा सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको छ।
तीन वर्षको अवधिमा सुदूरपश्चिममा दुई हजार ८६२ जनाले सम्बन्ध विच्छेदका लागि अदालतमा फिराद दर्ता गरेका छन्। आर्थिक वर्ष २०८०/८१ एक हजार ९६ जनाले सम्बन्ध विच्छेद गरि पाउँ भन्दै अदालतमा फिराद दर्ता गरेका हुन्। यस्तै, आर्थिक वर्ष २०७९/८० मा ९७० र आर्थिक वर्ष २०७८/७९ मा ७ ९६ जनाले सम्बन्ध विच्छेद लागि मुद्दा दर्ता गरेका थिए।
कैलाली जिल्ला अदालतमा तीन वर्षको अवधिमा एक हजार ४१२ जनाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन्। सम्बन्ध विच्छेद गर्नेमा कैलाली जिल्ला सबैभन्दा अग्रस्थानमा देखिएको छ। जसमध्ये एक हजार ४८ महिलाहरूले सम्बन्ध विच्छेद गरी पाउन निवेदन दिएका छन्। यस्तै तीन वर्षको अवधिमा बैतडी जिल्ला अदालतमा सम्बन्ध विच्छेदका ६८ मुद्दा दर्ता भएका छन्।
बाजुरा जिल्ला अदालतमा ९३, डडेल्धुरा जिल्ला अदालतमा महिलाका तर्फबाट ७८ र पुरुषका तर्फबाट ५६ गरी १३४ फिराद दर्ता भएका छन्। डोटीमा ५१ महिला र ३१ पुरुषले गरी ८२ जनाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन्। अछाम जिल्ला अदालतमा ६१ महिला र २८ पुरुष गरी ८९ जनाले सम्बन्ध विच्छेद गरिपाउँ भन्दै फिराद दर्ता गरेका छन्।
यस्तै, विगत तीन वर्षको अवधिमा बझाङ जिल्ला अदालतमा महिला ५६ र पुरुष ४८ गरी एक सय चार जनाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन्। दार्चुला जिल्ला अदालतमा सो अवधिमा एक सय २७ फिराद दर्ता भएका छन्। यीमध्ये ८६ महिला फिरादी रहेका छन्। कञ्चनपुर जिल्ला अदालतमा ७५३ सम्बन्ध विच्छेदका मुद्दाहरु दर्ता भएका छन्।