सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको बजेट– ‘काले काले मिलेर खाउँ भाले’

२०७६ असार ११, ११:४६ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमाथि संसदमा छलफल सुरु नभएपनि जनस्तरमा भने चर्चा भईरहेको छ। फेरी पनि वितरणमुखी बजेट आएको भन्दै यस्ले प्रतिफल दिनेमा धेरै कमले विश्वास गरेका छन्। अर्थका जानकार एव्म कैलाली बहुमुखी क्याम्पसका उप–प्राध्यापक गगन घिमिरेले प्रदेश सरकारले ल्याएको बजेटमाथि टिप्पणी गर्दै भने, ‘छोटोमा भन्नुपर्दा काले काले मिलेर खाउँ भाले भनेजस्तो हो यो बजेट।’

प्रदेश सरकारले अगामी आर्थिक २०७६-०७७ को बजेटमा पूर्वाधार विकास तर्फका योजनामा एक हजार, १० हजार, २७ हजार, ३० हजार, ४० हजार र ५० हजारका दरले बजेट विनीयोजन गरेको प्रसंगमा उप–प्रध्यापक घिमिरेको यस्तो टिप्पणी आएको हो। ‘प्रदेश सरकारले आफ्नो पार्टीका भुरे टाकुरेहरुलाई खुसि पार्नका निमित्त र भोट बैँकको बजेट आएको छ,’ उनले भने, ‘अहिलेको बजेट हेर्दा राजनीतिक दलका कार्यकर्ता खुसी पार्नका लागि थुप्रै योजना समेटिएका छन्।’

दिनेश खबरसंगको कुराकानीमा घिमिरेले यस्तो अवस्थामा सचेत नागरिकहरु,  बौद्धिक समूह, पत्रकार सम्पूर्णले खुलेरै विरोध गर्दै अर्थमन्त्री तथा सरकारलाई सुझाव दिनुपर्ने बताए। प्रदेश सरकारको बजेटमाथिको यस किसिमको टिप्पणीलाई हलुका ढंगले लिन नहुने पनि सरोकारवालाले औल्याएका छन्। सरकारको रातो किताबमा एक हजारका योजना पनि समावेश गरिएका छन्।

त्यो पनि महामारी रोगको प्रकोपका लागि भन्दै। बजेटमा औलो रोगीहरुको केसमा आधारित सर्भिलेन्स र एकिकृत भेक्टर सर्भिलेन्स शिर्षकमा कञ्चनपुर, दार्चुला, डडेल्धुरा, अछाम, बझाङ लगायतका जिल्लाका लागि एक–एक हजारका दरले बजेट विनीयोजन गरिएको पाईएको हो भने कञ्चनपुरमा महामारी प्रकोप जन्य रोगको उपचार तथा असहायहरुलाई वितरण गरिने औषधीका लागि पाँच हजार बजेट विनीयोजन गरिएको छ। 

बजेटमा एक हजार देखि १० हजार सम्मका योजना समावेश गरिएको विषयमा दिनेश खबरले धारणा माग्दा, प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले आफूलाई नै लज्जा बोध भएको प्रतिक्रिया दिए। उनले भने,‘सरकारको गैर जिम्मेवारीपनले उसकै हैसियत प्रष्ट भएको छ, यसले मलाई नै लज्जा बोध भएको छ, म यस विषयमा धेरै टिप्पणी गर्दिन्।’

प्राविधिक त्रुटी भएको हो–अर्थमन्त्री बोहोरा

अर्थमन्त्री झपट बोहोराले प्रदेश सरकारको बजेटमा एक हजार, पाँच हजार तथा १० हजारका योजना समावेश नगरिएको दावी गरेका छन्। प्राविधिक त्रुटीका कारण रातो किताबमा एक हजार पाँच हजार, १० हजारका योजना पर्न गएको उनको जिकिर छ। उनले भने,‘दुई शुन्य हुनुपर्ने ठाउँमा प्राविधिक त्रुटीका कारण शुन्य छुट्न जाँदा त्यसो भएको हो, त्यसलाई अन्यथा नलिन आग्रह गर्दछु।’

बजेट निर्माणमा सुरु देखि किचलो 

बजेट तर्जुमाकै चरणमा रहेका बेला गत जेठमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको स्वकिय सचिवालयले फेसबुक मार्फत योजना माग गरेको थियो। मा.मुख्यमन्त्री ज्यूको स्वकीय सचिवालय भन्ने फेसबुक आईडीमा आर्थिक वर्षका योजना छनौटका विषयमा केन्द्रीत गरी लेखिएको स्टाटसमा भनिएको थियो, “सुदूरपश्चिम प्रदेशको अगामी बजेटमा राख्नुपर्ने नीतिगत विषय र महत्वपूर्ण योजना भए ठेगना सहित म्यासेन्जरमा पठाउन अनुरोध छ।” सरकारले विभिन्न विधि प्रक्रियाहरु पूरा गरी योजना छनौट गर्नुपर्ने बेला मुख्यमन्त्रीको स्वकीय सचिवालयको फेसबुक आईडीमा यस्तो कुरा सार्वजनिक भएपछि चौतर्फी  आलोचना भएको थियो। मुख्यमन्त्रीकै स्वकीय सचिवालयले फेसबुकबाट योजना मागेपछि  आवश्यकता भन्दा पनि पहुँचका आधारमा बजेट आउने उतिबेला नै निश्चित जस्तै भइसकेको कतिपयले बताएका छन्। अर्कोतीर सांसदको सिफारिसमा खोला नभएका स्थानमा तटबन्धनका लागि चालु वर्षमा प्रदेश सरकारले बजेट विनीयोजन गरेको कुरा पनि विवादित बनेको थियो। अहिले आएर गत असार १ मा प्रदेशसभामा प्रस्तुत गरिएको अगामी आर्थिक वर्षको बजेटमा असन्तुष्टि जनाउदै प्रतिपक्षी दलले संसद बैठकमा अवरोध सिर्जना गरी रातो किताब नै जलाएको थियो। त्यसयता प्रदेशसभा बैठक नै चल्न नसक्दा बजेटमाथिको छलफलले सभामा प्रवेश नै पाएको छैन्।  असार ५ गते प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपाले बजेट असन्तुलित र वितरणमुखी रहेको भन्दै संसदमा अवरोध गर्दै रातो किताब जलाएपछि अर्थमन्त्री झपट बोहोराले सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै कुनै पनि हालतमा बजेट संशोधन गर्न नसकिने बताएका थिए। उनले प्रतिपक्षी दलले दिएका रचनात्मक सुझावलाई मनन गर्दै सन्तुलित बजेट आएकाले संशोधन गर्न नसकिने तर्क गरे। अर्थमन्त्रीको उक्त अभिव्यक्तिपछि प्रतिपक्षी दलले संसदमा थप सशक्त भएर प्रस्तुत हुने रणनीति बनाएको देखिन्छ। जसले गर्दा अहिले सम्म प्रदेश सभा बैठक बस्न सकेको छैन्।  

 

कमेन्ट लोड गर्नुस