सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखरालाई सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य

२०८१ मंसिर ३०, ०३:३४ खबर संवाददाता

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १ सय ५४ रनको लक्ष्य दिएको छ।

पोखराका कप्तान कुशल भुर्तेलले टस जितेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ५३ रन बनायो। प्रतियोगितामा ब्याटिङबाट पूर्ण रूपमा असफल रहेका आरिफ शेखले अविजित ४२ रन बनाएपछि सुदूरपश्चिमले पोखरालाई चुनौतीपूर्ण स्कोर दिन सफल भएको हो।

प्रतियोगिताको यसअघिका ५ खेलमा २२ रनमात्र बनाउन सकेका आरिफले ३८ बल खेलि २ चौका र १ छक्का प्रहार गरे। सैफ जैब ९, विनोद भण्डारी १४, ब्रान्डन म्याकमुलेन १६ बलमा १ चौका र २ छक्कासहित २३, हरमित सिंह १३, कप्तान दीपेन्द्रसिंह ऐरी १६ बलमा १ छक्कासहित २० रन बनाई आउट भए। इशान पाण्डे ११ बलमा १० रन बनाई रिटायर्ड आउट भए। उनको स्थानमा आएका स्कट कुग्लेनले ३ बलमा २ रनमात्र बनाउन सके।

नरेश बुढाएर ३ बल खेली ६ रनमा अविजित रहे। कुशलले ४ ओभरमा २७ खर्चेर २ विकेट लिए । रेयमोन रिफरले ४ ओभरमा २४, माइकल लिस्कले ४ ओभरमा २७ र सागर ढकालले ४ ओभरमा २९ रन खर्चेर १–१ विकेट लिए। सुदूरपश्चिमले यस खेल जितेमा औपचारिक रुपमा प्लेअफमा स्थान पक्का भई क्वालिफायर्स १ को नजिक पुग्ने छ। टोलीले सोमबार डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा कर्णाली याक्सको सामना गर्दैछ।

चार दिनअघि जनकपुर बोल्ट्सविरुद्ध विजय हात पारेको टोलीबाट सुदुरपश्चिमले कुनै खेलाडी परिवर्तन गरेको छैन। अघिल्लो दिन काठमान्डु गुर्खाजसँग पराजित पोखराले ३ खेलाडी परिवर्तन गरेको छ। टोलीले आकर्षित गोमिल, आकाश चन्द र नारायण जोशीको स्थानमा जेन मलिक, किरण ठगुन्ना, सुदीप अर्याललाई खेलाएको छ। ट्यालेन्ट हन्टबाट आएका सुदीपको प्रतियोगितामा यो पहिलो खेल हो। उनले २ ओभरमा १९ रन खर्चेर कुनै विकेट लिन सकेनन्। उनका बलमा लिस्कले आरिफको क्याच छाड्न पुगेका थिए।

कमेन्ट लोड गर्नुस