सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनकपुर चितवन राइनोजसँग पराजित

फाइल फोटो
फाइल फोटो
२०८१ मंसिर २९, ०७:४१ खबर संवाददाता

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिवार भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ।

सात खेल खेलेको जनकपुर बोल्ट्स तालिकामा १० अङ्कसहित शीर्ष स्थानमा छ। जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ। आजको जितपछि चितवनले सात खेलमा आठ अङ्क बटुलेको छ। चितवनसँगै पाँच खेल खेलेको सुदूरपश्चिम रोयल्स र छ खेल खेलेको कर्णाली याक्ससँग पनि समान आठ अङ्क छ।

आइतवार हुने काठमाडौं गुर्खाज र बिराटनगर किङ्ग्सबीचको खेलपछि शीर्ष चार टोलीको टुङ्गो लाग्नेछ। उक्त खेलमा काठमाडौं गुर्खाज विजयी भए उसको पनि आठ अङ्क हुनेछ। यस आधारमा शीर्ष चारमा पर्ने टोलीको टुङ्गो रनरेटका आधारमा हुनेछ। जारी प्रतियोगिताबाट लुम्बिनी लायन्स यसअघि नै बाहिरिएको छ भने आजको खेलपछि बिराटनगर किङ्ग्स र पोखरा एभेञ्जर्स पनि प्रतियोगिताबाट बाहिरिएका छन्।

आजको खेलमा एक सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो। चितवनको जितमा रिजन ढकाल, सोहिल तनवीर र कुशल मल्लले समान दुई÷दुई विकेट लिए भने अमर रौतेलाले एक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रनको योगफल बनाएको थियो। 
 

कमेन्ट लोड गर्नुस