सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २३ देशका चलचित्र देखाइने

२०८१ मंसिर २४, ०४:१९ खबर संवाददाता

काठमाडौँः ‘बाह्रौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा नेपालसहित २३ देशका ५३ चलचित्र छनोट भएका छन्।

‘सामाजिक न्याय’ सहित आज सोमवारदेखि चल्ने महोत्सवमा मानव अधिकारको पैरवीका लागि विभिन्न अन्तरक्रिया तथा गोष्ठी पनि आयोजना गरिने नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रका अध्यक्ष एवं महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिए।

“यसपटकको संस्करणमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त चलचित्रसमेत सहभागी हुन् आएका छन्, मानव अधिकारसँग सम्बन्धित चलचित्रहरुको प्रवद्र्धन र प्रदर्शनका लागि नियमित रुपमा महोत्सव गर्दै आएको छौँ”, निर्देशक खत्रीले भने। महोत्सवमा कान्स र बर्लिनजस्ता विश्वचर्चित चलचित्र पुरस्कृत चलचित्रहरु ‘अल वी इमाजिन एज लाइट’, ‘द म्यान हू कुडनट रिमेन्न साइलेन्स’, ‘एन आउटरन’, ‘अनार दाना’ लगायतको सहभागिताले महोत्सवको रौनकता बढाउने महोत्सव निर्देशक खत्रीले बताए।

नेपालसहित पाकिस्तान, बङ्गलादेश, भारतलगायत देशका चलचित्रकर्मीको सहभागिता रहने महोत्सव आगामी चार दिनसम्म काठमाडौँको चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुनेछ।
 

कमेन्ट लोड गर्नुस