सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘किनाराका अलिखित संवेगहरू’

राष्ट्रिय कविता महोत्सवमा द्वितीय भएकोको कविता

२०७६ असार १०, ११:३९

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेका राष्ट्रिय कविता महोत्सवमा डोटीका कवि सुभाषचन्द्र भण्डारीको ‘किनाराका अलिखित संवेगहरु’ शीर्षकको कविताले द्वितीय स्थान प्राप्त गरेको छ। राष्ट्रिय कविता महोत्सवमा हेम प्रभासको ‘प्रदेश गएका पतिको नाममा’ शीर्षकको कविताले प्रथम स्थान प्राप्त गरेकोमा भण्डारीको कविताले दोश्रो स्थान प्राप्त गरेको हो।

राष्ट्रिय कविता महोत्सवमा द्वितीय भएकोको कविता 

कर्खा कोट र कोतका समयका कल्पान्त गाथाहरू–
हुड्कामा विरुदावली पयरमा छन् घाउ–टाँकाहरू !
फाटेको इतिहासको छ पगडी कर्नाल भोकै बजे,
पैताला रगताम्य माथ–तनमा रङ्गीन धाजा सजे !
          –। १ ।–
पैकेला झगुला र खाँक्कर तिनै लोकोक्तिका आँखर,
पुर्खाका पदचाप कोरस कला संस्कारका पाहुर !
सारा वस्त्र सिलाउने ‘बलबिरे’ निर्वस्त्र आफैँ किन ?
ढाल्ने शस्त्र सुवीर ‘जग्गु तिरुवा’ सन्त्रस्त काँप्ने किन ?
         –। २ ।–
मान्छेको अकथा– अजात भँवरो, जा बागबाटै पर ?
ज्वालामा समशान्ति जप्छ घनले लोहारको आफर !
टोर्नाडो बनिदिन्छ बादल भने विध्वंस नाच्दैन र ?
एकै आँगनमा फुले बहुलता के देश हाँस्दैन र ?
                 –। ३ ।–
काली सिन्धु पुगी हिमाल नभुली फर्केर दर्किन्छ कि ?
सेतीका सुइना बगे कति भनी मेची सुसेलिन्छ कि ?
भ्रष्टाचार अछूत हुन्छ बुझिनस् ? ए बुर्जुवा–गल्प जा ! 
मान्छेका मनभित्र बोधि–समता फुल्ने नयाँ कल्प आ !
          –। ४ ।–
हे प्यारा नगरा, अनेक धुनमा आशा बजा देशका !
हुड्केली अब नाच्नुपर्छ बटुली संवेग सीमान्तका !
माटो खोज्दछ अर्म–पर्म–पसिना उम्रिन्छ के जातले ?
नेपाली नवचेत बुन्नु छ मिली बुट्टा नयाँ तानले ।

कवि परिचय
सुभाषचन्द्र भण्डारी
स्थायी ठेगानाः जोरायल गाउँपालिका–५, गडसेरा, डोटी
हालको ठेगानाः मध्य बानेश्वर, काठमाडौँ
इमेलः [email protected]

कमेन्ट लोड गर्नुस