बैतडीका ९ पालिकामा बाँदर, दुम्सी र बँदेलको आतङ्क
धनगढीः बैतडीमा जङ्गली जनावरको आतङ्कले स्थानीय हैरान भएका छन्। जङ्गली जनावरको आतङ्कले किसानहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
बैतडीको पाटन नगरपालिका बाहेक ९ पालिकामा बाँदर, दुम्सी र बँदेलको बिगबिगी छ। जङ्गली जनावरका कारण सर्वसाधारणले खेतीपाती गर्नछोडेका छन्। बाँदर र बँदेलका कारण जिल्लामा खाद्य असुरक्षा बढेको छ। बैतडीमा १० वर्षयतादेखि जङ्गली जनावरको आतङ्क बढेको हो। जङ्गली जनावर व्यवस्थापन गर्न स्थानीयबाट माग भए पनि सरकारी तहबाट कुनै प्रयास भएको छैन।
पुरचौडीमा बाँदर, दुम्सी र बँदेलको बिगबिगी
बैतडीमा जङ्गली जनावरको आतङ्कले स्थानीय हैरान भएका छन्। जिल्लाका १० मध्ये ९ पालिकामा जङ्गली जनावरको आतङ्कले स्थानीय हैरान भएका हुन्। बैतडीको पाटन नगरपालिकामा तुलनात्मक रूपले जङ्गली जनावरको आतङ्क कम भए पनि अन्य ९ पालिकामा स्थानीयले खेती भित्र्याउन निकै सास्ती खेप्नु परेको छ।
पाँच वर्ष अगाडिसम्म बाँदर, बँदेल र दुम्सी देखा नपरेको गाउँबस्तीमा अहिले बिगबिगी बढेको पुरचौडीं नगरपालिकाका नगर प्रवक्ता धिरेन्द्र बमले बताए। उनले गाउँघरमा बाँदरको आतङ्क अलि कम भए पनि बँदेल र दुम्सीको आतङ्क पालिकाको १० वटै वडामा बढेको बताएका छन्। उनले भने, ‘बाँदरको आतंक वडा नम्बर १, २, ६, ७ र ८ मा बढेको छ भने सबै वडामा दुम्सी र बँदेलको बिगबिगी छ। जङ्गली जनावरले किसानको खेतीपातीनस्ट गर्ने हुँदा स्थानीय निकै पीडित भएका छन्।’
दशरथचन्दमा गाउँहरू रित्तिँदै
बैतडीको दशरथचन्द नगरपालिकामा केही वर्षदेखि बाँदर र बँदेल आतङ्क निकै बढेको छ। बाँदर र बँदेलको सङ्ख्या अत्यधिक बढेकाले स्थानीयले खेतीपाती लगाउनै छोडेका छन्। दशरथचन्द नगरपालिकामा सिङ्गो गाउँ पलायन हुने दर बढेको नगर प्रवक्ता अजवबहादुर पाण्डेले बताए। उनले ११ वडा रहेको पालिकामा सबै वडामा बाँदर र बँदेलको आतङ्कले गर्दा किसानहरूले खेतीपाती लगाउन छोडेको बताए।
पाण्डेले खेतीपाती नै जोगाउन नसक्दा स्थानीयले बसाइँसराइ गर्न थालेको बताए। ‘दशरथचन्द नगरपालिकाको ११ वटै वडामा बाँदर र बँदेल आतङ्क छ। किसानहरूका खेतहरू बाझो छन्,’ उनले भने, ‘किसानहरूले तरकारी, अन्न र फलफूल जे खेती गर्दा पनि जोगाउन नसक्ने भएकाले भारत तथा तराईमा गाउँ नै बसाइ सर्ने क्रम बढेको छ।’ प्रवक्ता पाण्डे अगाडि भने, ‘दशरथचन्द नगरपालिकाका हरेका बस्तीमा दिनमा बाँदरले सताउने तथा रातमा बँदेलले सुत्न नदिने समस्या छ।’
तल्लो स्वाराडका तीन पालिकामा ६० प्रतिशत खेत बाँझै
बैतडीको दोगडाकेदार गाउँपालिका, डिलासैनी, सुर्नाया र सिगास गाउँपालिकामा पनि जङ्गली जनावरले किसानको बालीनाली सखाप पार्दै आएका छन्। लगाएको खेती भित्र्याउन किसानहरूले रातदिन खेतबारीमै चौकीदारी गर्नुपर्ने अवस्था छ।
यस्तै जिल्लाको तल्ली स्वराड क्षेत्रमा पर्ने मेलौली नगरपालिका, पञ्चेश्वर र शिवनाथ गाउँपालिका समेत बाँदर, बँदेल र दुम्सीको प्रकोप छ। जसका कारण यी तीन स्थानीय तहमा घर, खेत छोडेर अन्यत्र पलायन हुनेको क्रम बढेको र किसानले उब्जनी हुने करिब ६० प्रतिशत खेत बाँझो छोड्न थालेको पञ्चेश्वर गाउँपालिकाका प्रवक्ता जनकबहादुर चन्दले बताए। ‘तल्लो स्वराड क्षेत्रको मेलौली, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा बाँदर र बँदेल आतंक करिब १० वर्षदेखि बढेको हो,’ उनले भने, ‘यी तीन पालिकामा बाँदर र बँदेलकै कारण खेतीयोग्य जमिनको करिब ६० प्रतिशत क्षेत्र बाँझो छोडिएको छ। यहाँ बसाइसराइको दर पनि उच्च छ।’
‘समस्या मुख्यमन्त्रीलाई राख्दा समेत सुनुवाइ भएन’
दस पालिका रहेको बैतडीमा पाटन नगरपालिकाको केही वडा बाहेक अन्य पालिकामा जङ्गली जनावरकै कारण खेतीपाती गर्न समस्या छ।
स्थानीय तहहरूले जङ्गली जनावर नियन्त्रण गर्ने कुनै कदम चाल्न सकेका छैनन्। जिल्लामा बँदेल र बाँदरका कारण खाद्य असुरक्षा बढेको भए पनि सरकारी तहबाट वन्यजन्तु नियन्त्रण र व्यवस्थापनको कुनै काम भएको छैन।
वन्यजन्तुको व्यवस्थापनका लागि प्रदेश सरकारसँग पटक-पटक हारगुहार गर्दा समेत कुनै सुनुवाइ नभएको जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले बताए। उनले मुख्यमन्त्रीलाई पटक-पटक जिल्लाको समस्या राख्दा समेत वन्यजन्तु व्यवस्थापनका लागि कुनै काम नभएकाले अहिले समस्या राख्न समेत छोडेको बताए। ‘वन समन्वय समितिको संयोजक जिल्ला समन्वय समिति प्रमुख रहने व्यवस्था छ। हामीले तीन(चार पटक वन्यजन्तु व्यवस्थापनका लागि प्रदेश सरकारसँग लिखित र मौखिक कुरा राखिसकेका हौँ,’ उनले भने, ‘मन्त्री र मुख्यमन्त्रीलाई भेटेर समस्या राख्दा समेत कुनै सुनुवाइ नभएपछि अहिले यो विषमा कुरा गर्न छोडेका छौँ। जिल्लाका सबै पालिकामा बाँदर र बँदेलले किसानहरूलाई हैरान बनाएको छ।’
सर्वसाधारणका बन्दुक प्रशासनले राखेपछि बिगबिगी बढ्यो
बाँदर, बँदेल र दुम्सीको आतङ्ककै कारण बैतडीका राम्रो उब्जनी हुने खेतबारी बाँझो छोड्न थालिएको छ। खेतीपाती नै गर्न नसकिने अवस्था आएपछि सबै पालिकाबाट गाउँ नै रित्तिने गरी बसाइँसराइको क्रम बढेको छ।