पाकिस्तानमा यात्रुवाहक बसमा गोली हानेर ३२ जनाको हत्या
एजेन्सीः पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा भएका दुई आक्रमणमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ। मत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको अधिकारीहरूले बताएका छन्।
शिया समुदायका दुई अलग–अलग समूहलाई कुर्रम जिल्लामा आतङ्ककारीहरूले निशाना बनाएका प्रहरीले बताएको छ। ‘दुवै घटनामा गरी महिला र बालबालिकासहित कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्’, स्थानीय प्रशासनका वरिष्ठ अधिकारी जावेदउल्लाह महसुदले एएफपीसँग बताए।
उनले भने, ‘प्रारम्भिक रिपोर्टअनुसार मृतक छ जना महिला, केही बालबालिका र प्रहरी अधिकारी रहेको पुष्टि भएको छ।’ दुवै घटनामा करिब १० जना आक्रमणकारीको संलग्नता रहेको र सडकको दुवैतिरबाट अन्धाधुन्ध गोली चलाएको बताइएको छ।
सुन्नी र शिया मुस्लिम जनजातिहरू उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रममा केही महिनादेखि लगातार लडिरहेका छन्। पाकिस्तानमा हुने सामुदायिक झडपमा परी बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन्। गत अक्टोबरमा भएको झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको थियो।