सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ५० को सङ्ख्यामा हात्तीको झुन्ड, स्थानीय त्रसित

२०८१ कार्तिक २९, १०:३० खबर संवाददाता

धनगढी : कञ्चनपुरको दक्षिणी क्षेत्रमा ५० को सङ्ख्यामा हात्तीको झुन्ड रहेको छ। पछिल्लो डेढ महिनादेखि लालझाडी गाउँपालिका र बेलौरी नगरपालिकामा जङ्गली हात्तीको झुन्डले आतङ्क मच्चाइरहेको हो। हात्तीको आतङ्कले स्थानीय त्रसित छन्।

करिब ४०/५० को सङ्ख्यामा रहेका हात्ती रातदिन उखुबारीमै बस्न थालेपछि जनजीवन त्रसित भएको हो। लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले एक÷डेढ महिनादेखि हात्तीको झुन्ड यतै रहेको बताए। उनले भने, ‘जङ्गली हात्तीका कारण हिँडडुल गर्न पनि गाह्रो भइसकेको छ।’ जङ्गली हात्तीले ५० बिघा जमिनको उखु बाली नष्ट गरिसकेको अध्यक्ष रानाले बताए। हात्तीले लालझाडी गाउँपालिका–३ र ४ का स्थानीयका घरसमेत भत्काएको छ। हात्तीले आतङ्क जारी राखेपछि घरखेत जोगाउनका लागि लालझाडी र बेलौरीका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन्।

खेतमा आएको हात्तीको झुन्ड धपाउने क्रममा असोज १३ गते हात्तीको आक्रमणबाट एक जनाको ज्यानसमेत गयो। हात्तीले लालझाडी गाउँपालिका–४ का ५० वर्षीय रामदल रानाको ज्यान लिएको हो। सो घटनाको हप्ता दिनपछि जङ्गली हात्तीले बेलौरी नगरपालिका–६ का २२ वर्षीय उमेश चौधरीको पनि ज्यान लिएको थियो।

दिनमा समेत हात्तीको झुन्ड बस्तीतिर आउन थालेपछि गाउँघरमा हिँडडुल गर्न गाह्रो भएको छ । गाउँपालिका अध्यक्ष रानाले बस्तीतिर आएका जङ्गली हात्ती धपाउनका लागि अन्य निकायले सहयोग नगरेको गुनासो गरेका छन्।

खेत र बस्तीतिर आएका हात्ती धपाउनका लागि पालिकाले जेसिबी, ट्याक्टर, बाजागाजा र ढोलको व्यवस्था गरेको छ। दिउँसो बस्तीतिर आएको हात्तीलाई जेसिबी प्रयोग गरेर वनतिर धपाउने गरेको अध्यक्ष रानाले बताए। ‘जेसिबी लिएर धपाउन जाँदा हात्ती जेसीबिसँगै लड्न आउने गर्दछन्,’ उनले भने।

जङ्गली हात्तीको आतङ्क जारी रहेको लालझाडी गाउँपालिका मोहना–लालझाडी कोरिडोर आसपासमा पर्दछ। भारतको दुधुवा नेसनल पार्क र मोहना–लालझाडी कोरिडोरमा ओहोरदोहोर गर्ने क्रममा हात्तीको झुन्डले खेतीपातीसहित मानव बस्तीमा नोक्सान गर्दै आएको छ।

हात्तीले खेतीपातीमा ठुलो नोक्सान गर्न थालेपछि उखु खेती गरेका कृषक समस्यामा परेका छन्। खेतमा पुगेर हात्तीले उखु सखाप पार्ने गरेको छ। उखुबारीमा हात्तीको झुन्ड पसेपछि धपाउन नसक्ने गरेको किसानले बताएका छन। उनीहरूले हात्ती आतङ्कको समाधान खोज्न सम्बन्धित निकायलाई आग्रह गर्दै आएका छन्।

लालझाडीसहित कञ्चनपुरको पूर्वी क्षेत्रमा जङ्गली हात्तीको आतङ्क अझै जारी रहेको डिभिजन वन कार्यालय कुण्डामा कार्यरत वन अधिकृत दिनेशकुमार यादवले बताए। उनले जङ्गली हात्तीले यसै वर्ष दुई जनाको ज्यान लिनुका साथै घर, खेतीपातीमा नोक्सान गरेको बताए।

मृतकका परिवारलाई क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाइएको वन अधिकृत यादवले बताए। वन्यजन्तुले मान्छेको ज्यान लिएमा मृतकका परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिने नेपाल सरकारले व्यवस्था गरेको छ। यसै गरी कृषिमा क्षति भएका कृषकलाई पनि क्षतिपूर्ति दिने व्यवस्था रहेको छ।

 

कमेन्ट लोड गर्नुस