सुदूरपश्चिममा पाएनन् एचआइभी संक्रमितले नागरिकता
धनगढीः सुदूरपश्चिममा एचआइभी संक्रमितलाई नागरिकता पाउन समेत सकस हुने गरेको पाइएको छ।
अछामको बयलपाटा एआरटी सेन्टरमा रहेकी ३० वर्षीया हर्सना आउजी (नाम परिवर्तन) को नागरिकता नहुँदा सहजै सेवा पाउन समस्या भइरहेको छ। सङ्क्रमितहरूका लागि सरकारले निःशुल्क स्वास्थ्य बिमा गरेको छ। तर उनको नागरिकता नहुँदा राज्यबाट पाइने अधिकांश सेवाबाट वञ्चित हुनु परेको छ। एचआइभीबाटै उनका श्रीमानको मृत्यु भइसकेको छ भने उनकी एक छोरी पनि सङ्क्रमित छन्।
यता सेती प्रादेशिक अस्पताल एआरटी सेन्टरमा रहेका चौधरी थरका ५० वर्षीय एक पुरुषले पनि नागरिकता पाउन सकेका छैनन। प्रतिलिपी लिन गएको सिफारिस दिएर पनि उनले नागरिकता प्राप्त गर्न सकेका छैनन्। यस्तै ४७ वर्षीया विक थरकी महिलाले पहिलेको श्रीमानको मृत्यु भएपछि दोस्रो विहे गरेकी थिइन। तर उनले नागरिकता पाउन सकेकी छैनन्।
४५ वर्षीया अर्की विक थरकै महिलाको पनि नागरिकता बन्न सकेको छैन। श्रीमानको मृत्यु भएपछि नागरिकता प्राप्त गर्न समस्या भएको हो। विक थरका अर्का पुरुषका बुवा बितेको र आमाको नागरिकता नहुँदा उनी पनि नागरिकता पाउनबाट वञ्चित भएका छन्। महर्जन थरका ४५ वर्षीय पुरुषको आफन्त कोही नभएपछि उनले पनि नागरिकता पाउन सकेका छैनन्।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले संकलन गरेको तथ्याअनुसार अछाममा आर्थिक वर्ष २०७६/७७ मा एचआइभी संक्रमितको संख्या ३६ थियो। यो संख्या आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा बढेर ६४ पुगेको थियो भने आर्थिक वर्ष २०७८/७९ मा ५७ थियो। यता सेती प्रादेशिक अस्पताल (एआरटी सेन्टर) मा नयाँ संक्रमितको संख्या आर्थिक वर्ष २०७६/७७ मा ७७, आर्थिक वर्ष २०७७/७८ मा ६४ र आर्थिक वर्ष २०७८/७९ मा बढेर एक सय नाघेको तथ्यांक छ।
यस्तै सुदूरपश्चिमका विभिन्न एआरटी सेन्टरहरूमा उपचार गराइरहेका ३ सय १९ जना सङ्क्रमित सम्पर्कविहीन छन्। सबैभन्दा बढी सेती प्रादेशिक अस्पतालबाट १ सय ९ जना, टीकापुरबाट ६६ जना, महाकाली प्रादेशिक अस्पतालबाट ४६ जना, डोटीबाट ३७ जना, अछाम अस्पतालबाट २६, कमलबजार अछामबाट ८, बयलपाटा अस्पताल अछामबाट ७, बझाङ ८, बाजुरा ४, बैतडी ३, दोधारा कञ्चनपुर ३, जोगबुढा डडेल्धुरा १, मालाखेती कैलाली २ र चौरपाटी अछाम केन्द्रबाट १ जना सङ्क्रमित सम्पर्कविहीन छन्। एचआइभी एड्सबाट सबैभन्दा बढी जोखिममा भारतमा श्रम गर्न जाने व्यक्ति पर्ने गरेका छन्। श्रम गरेर फर्केकाको श्रीमती, परिवारका सदस्य बढी जोखिममा परेको विभिन्न तथ्याङ्कले देखाएको छ।