बैतडीको पुर्चौडीले हाट स्वास्थ्य चौकीबाट २४ सैं घण्टा उपचार सेवा दिँदै
धनगढीः बैतडीको पुर्चौडी नगरपालिका– १ हाट स्वास्थ्य चौकीबाट २४ सैं घण्टा दिन थालेपछि स्थानीयलाई सहज भएको छ।
एमबीबीएस डाक्टर भर्ना गरेर उपचार सेवा दिन थालेपछि बिरामीहरूलाई सहज भएको हो। हाट स्वास्थ्य चौकीबाट प्रयोगशाला परीक्षण सेवा, इसिजी र अल्ट्रासाउन्ड सेवा दिन थालेपछि उपचार गर्न डडेल्धुरा, धनगढी र भारतको पिथौरागढ जानुपर्ने बाध्यता हटेको छ। एमबीबीएस डाक्टर राखेर उपचार सेवा दिन थालेपछि स्वास्थ्यचौकीमा फार्मेसी समेत राखिने भएको छ।
एमबीबीएस डाक्टर राखेर बिरामीको उपचार
बैतडीको पुर्चौडी नगरपालिकाले हाट स्वास्थ्य चौकीबाट २४ सैं घण्टा उपचार सेवा दिन थालेको छ।नगरपालिकाले एमबीबीएस डाक्टर राखेर उपचार सेवा दिन थालेपछि बिरामीहरूलाई स्वास्थ्य उपचार पाउन सहज भएको छ।
नगरपालिकाले हाट स्वास्थ्य चौकीबाट २४ सैँ घण्टा उपचार सेवा दिन थालेपछि १० वडाका स्थानीयलाई बिरामी हुँदा उपचार पाउन सहज भएको नगरप्रमुख दिपकबहादुर बमले बताए। उनले मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घ रोगको परीक्षण र औषधी सेवन गर्न स्थानीयलाई सहज भएको बताए। ‘हाट स्वास्थ जहिलेबाट एमबीबीएस डक्टर राखियो तबदेखि यहाँको १० वटै वडाका बिरामीलाई उपचार र परामर्श सेवा पाउन सहज भएको छ,’ उनले भने, ‘स्वास्थ्य चौकीमा जनशक्ति र उपकरणको व्यवस्था गरिएकाले बिरामीहरूलाई सहज उपचार सेवा दिन सकिएको छ। सर्वसाधारण पनि गाउँमै उपचार पाउँदा खुसी छन्।’
सामान्य बिरामी हुँदा अन्यत्र जानुपर्ने बाध्यता हट्यो
हाट स्वास्थ्य चौकीमा नगरपालिकाले अल्ट्रासाउन्ड लगायतका उपकरण राखेको छ भने हेमाटोलोजिकल एनालाइजरसहितको प्रयोगशाला सेवा सुरू गरेको छ। चिकित्सकसहितको उपचार सेवा दिन थालेपछि पुर्चौडीका बिरामीले उपचार गर्न डडेल्धुरा, धनगढी र पिथौरागढ जानुपर्ने बाध्यता हटेको नगरप्रमुख बमले बताए। ‘स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर राखेपछि उपचार सेवा दिन सहज भएको छ। चिकित्सकसहितको दक्ष स्वास्थ्यकर्मीको टिमले बिरामीलाई २४ सैं घण्टा उपचार दिने व्यवस्था हुँदा सामान्य बिरामी हुँदा समेत डडेल्धुरा, धनगढी र भारतको पिथौरागढ जानुपर्ने बाध्यता हटेको छ,’ नगरप्रमुख बमले भने।
फार्मेसी चलाउने तयारी
नगरपालिकाको केन्द्र वडा नम्बर १ मा रहेको स्वास्थ्य चौकीमै चिकित्सक र अन्य स्वास्थ्य कर्मचारीको समेत बस्ने व्यवस्था मिलाइएको छ। जसले गर्दा बिरामीलाई २४ सैं घण्टा उपचार सेवा दिन सहज भएको छ। स्वास्थ्य चौकीमा आउने बिरामीलाई सस्तोमा औषधी दिन फार्मेसी चलाउने तयारी गरिएको नगरप्रमुख बमले बताए। ‘बिरामीलाई सस्तो औषधी उपलब्ध गराउन स्वास्थ्य चौकीमा फार्मेसी चलाउने सोच बनाएका छौँ। अहिले यहाँका स्थानीयले सानो बिरामी हुँदासमेत उपचारका लागि अन्यत्र जानुपर्ने या रोग पालेर बस्नुपर्ने अवस्था हटेको छ,’ नगरप्रमुख बमले भने।
पुर्चौडी नगरपालिका बैतडीकै सबैभन्दा बढी जनसङ्ख्या भएको स्थानीय तह हो। दस वडा रहेको पालिकामा हाट स्वास्थ्य चौकीबाट सर्वसाधारणलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा दिने प्रयास थालिएको छ।