सुदूरपश्चिम सरकारको प्रादेशिक आयुर्वेद चिकित्सालयमा बढ्दै बिरामीको सङ्ख्या
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको प्रादेशिक आयुर्वेद चिकित्सालयमा बिरामी तथा सेवाग्राहीको सङ्ख्या बढ्दै गएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको चिकित्सालयमा बिरामीको सङ्ख्या बढ्दै गएको हो।
नेपाल सरकारको सातवटै प्रदेशका आयुर्वेद चिकित्सालय सञ्चालन गर्ने नीति अनुसार धनगढीमा चिकित्सालयका लागि भवन निर्माण गरिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारले धनगढी उपमहानगरपालिका–१३ राजपुरमा प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालन गर्दै आएको छ। तीन वर्षको अवधिमा चिकित्सालयमा सेवाग्राहीको सङ्ख्या बढ्दै गएको हो। चिकित्सालयले प्रत्येक दिन एक सयदेखि एक सय ५० जनाले सेवा लिने गरेको बताएको छ।
आर्थिक वर्ष २०८०/०८१ मा प्रादेशिक आयुर्वेद चिकित्सालय १४ हजार सात सय २५ महिला र ११ हजार ९ सय ९७ पुरुष गरेर २६ हजार ७ सय २२ जनाले सेवा लिएका थिए। चालु आर्थिक वर्षको तीन महिनामा मात्रै २ हजार ४ सय ९ महिला र २ हजार ५५ पुरुष गरेर चार हजार ४ सय ५८ जनाले सेवा लिएका चिकित्सालयले बताएको छ। श्रावणमा ७५० महिला र ७२३ पुरुष, भदौमा ७९७ महिला र ५७० पुरुष र असोज ८६४ महिला र ७६१ पुरुषले सेवा लिएका हुन। सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयका सूचना अधिकारी सुरेन्द्र शाहीले बिरामी तथा सेवाग्राहीको सङ्ख्या बढ्दै गएका बताए। उनले भने, ‘सेवाग्राहीको सङ्ख्या बढ्दै गएको देखिन्छ। केही नयाँ सेवाग्राही पनि हुुनुहुन्छ। नियमित औषधी सेवन गर्ने सेवाग्राही पनि हुनुहुन्छ। दीर्घरोगीहरूको सङ्ख्या धेरै छ।’
चिकित्सालयमा बाथरोग, पाइल्स, फिस्टुला, फिसर लगायतका उपचार सेवा छन। शाहीले भने, ‘केही सेवा विस्तार गरेका छौँ। पायल, फिस्टुलाको उपचार सेवा दिएका छौँ। छार सूत्रका विधि पनि सुरु भएका छन। शल्य सेवा विस्तार भएको छैन। दुई पटक विज्ञापन गर्दा पनि कर्मचारी आउनुभएन।’
हाल चिकित्सालयले २४ घण्टा सेवा दिइरहेको छ। अहिले ७ प्रकारको औषधी चिकित्सालयमै उत्पादन गरी, सशुल्क र निःशुल्क फार्मेसी समेत सञ्चालित छ। चिकित्सालयबाट स्नेह स्वदेन शिरोधारा, पञ्चकर्म वस्तिकर्म, वमन, विरचेन, नस्य, स्वर्ण प्राशन, होमियोप्याथी, आइपीडि (अन्तरङ्ग) सेवापनि सुलभ दरमा दिइदै आएको छ। सुदूरपश्चिममा आयुर्वेद उपचार तर्फ आकर्षण बढ्दै गएको चिकित्सालयले बताएको छ। शाहीले भने, ‘जिल्लामा चिकित्सालयहरू छन। उहाँहरूले पठाउनु भएका समिति बिरामी छन। अधिकांश आफै आउनु भएको हुन्छ। चिकित्सालयको विषयमा बिरामीलाई जानकारी पनि छैन। बिस्तारै बिरामीको सङ्ख्या बढ्दै गएको छ।’
एक सय ११ जना कर्मचारीको दरबन्दी रहेको ५० शय्याको चिकित्सालयमा हाल २६ जना मात्र कर्मचारी छन। प्रदेश सरकारले बिरामीको सङ्ख्या र चिकित्सालयको सेवा अनुसार कर्मचारी नपठाएको व्यवस्थापन समितिका अध्यक्ष नरेश विष्टले बताए। विष्टले भने, ‘उपकरणको लागि बजेट पर्याप्त छैन। चाहिने बजेट पनि दिएको छैन। आवासका लागि र उपकरणका लागि थोरै बजेट आएको छ। त्यो बजेटले पुग्दैन।’ चिकित्सालयमा आयुर्वेद चिकित्सक, होमियोप्याथिक चिकित्सक, प्राकृतिक चिकित्सक, रेडियो ग्राफर, ल्याब टेक्निसियन, सहायक कम्प्युटर अपरेटर, ल्याब असिस्टेन्ट, अनमी, वैद्य, स्टाफ नर्स र कविराज गरेर २६ जना मात्र कर्मचारी छन।
राजपुरमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले पहिलो कार्यकालमै उद्घाटन गरेका थिए।