सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘गौ’ सेवासँगै धनगढीकी रिता व्यावसायिक कृषिमा समेत संलग्न

२०८१ कार्तिक ११, ०९:२६ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–४ बोराडाँडीमा रिता अवस्थीले ४२ कट्ठा जग्गामा व्यावसायिक फलफूल खेती सुरू गरेकी छन्।

धनगढीमा ‘गौ’ सेवासँगै गत वर्षदेखि सयपत्री फूलको व्यावसायिक उत्पादन सुरू गरेकी अवस्थीले २०७९ पुसमा कलकत्ताबाट बिरुवा मगाएर एक बिघामा ड्रयागन फ्रुट खेती सुरू गरेकी हुन्। गत वर्ष पुष्पखेतीबाट करिब ८० हजार मुनाफा गरेको बताउने अवस्थीले भारतीय फूलका कारण स्वदेशी किसान मर्कामा परेको बताइन्। उनले नेपाली किसानलाई व्यावसायिक उत्पादन गर्न नदिन भारतीय कृषि उपज बाधक रहेको बताइन्।

भारतीय सीमावर्ती क्षेत्रका किसानले गरेको उत्पादनको घुसपैठले नेपाली किसानको लगानी समेत डुब्ने गरेको भनाइ अवस्थीको छ। ‘भारतीय उत्पादनको कारण नेपाली किसानको उत्पादनले उचित मूल्य र बजार नपाउने अवस्था छ’, उनले भनिन्, ‘धनगढी उपमहानगरपालिकाले फूलखेती गर्न सहयोग नगरेको भए घाटा व्यहोर्नुपर्ने अवस्था आउथ्यो। भारतीय उत्पादन प्रतिस्थापन गर्नु नेपाली किसानको लागि मुख्य चुनौती हो।’

भारतीय फूलका कारण कैलालीमा उत्पादन पुष्पखेतीको उत्पादनले बजार पाउन समस्या हुने अनुभव बताउने अवस्थीले स्थानीय र प्रदेश सरकारको सहयोगका कारण पुष्प व्यवसायमा टिक्न सकेको बताएकी छन्। धनगढीमा पुष्प व्यवसाय गर्न इच्छुक किसानहरूलाई उपमहानगरपालिकाले तीन महिने र १० दिने फूल उत्पादन सम्बन्धी तालिम दिएको थियो। सोही तालिम र त्यसपछि बिउ, सिंचाइ तथा बजारीकरणमा धनगढी उपमहानगरपालिका, कृषि निर्देशनालय र ज्ञान केन्द्रले सहयोग गर्दा व्यवसायमा टिक्न सकिएको अवस्थीको बुझाई छ।
ड्रयागनसँगै फलफूलका बिरुवासमेत हुर्किदै
यो वर्ष अवस्थीले पाँच कट्ठा जग्गामा मात्रै सयपत्री फूल लगाएकी छन्। तीन हजार बिरुवा ड्रयागन फ्रुट लगाएकी अवस्थीले आफ्नो बारीमा एक सय बोट मेवा, सय बोट भुइँ कटहर, ५० बोट लखनउ–४९ प्रजातिको अम्बा, एक सय बोट अङ्गुर लगाएकी छन्। उनले यो वर्ष पाँच कट्ठामा गरिएको फूलखेतीबाट पाँच क्वीन्टल सयपत्री फूल उत्पादन हुने र सबै फूल बिक्री भए राम्रै आम्दानी हुने बताइन्।
एक बिघामा परवल खेती गर्ने तयारी
अवस्थीले यो वर्षदेखि करिब एक बिघा जग्गामा व्यावसायिक परवल खेती गर्ने योजना बनाएकी छन्। उनले परवल खेती गर्न सजिलो हुने र आम्दानी पनि राम्रो हुने भएकाले परवल खेती गर्ने निधो गरेको बताइन्। ‘मैले व्यावसायिक परवल खेती गर्ने सोच बनाएकी छु। यो वर्षदेखि एक बिघा जग्गामा परवल खेती गर्ने योजना छ’, उनले भनिन्, ‘परवलको होलसेल मूल्य नै ८० रुपैयाँभन्दा कम हुन्न। वर्षमा ९ महिना उत्पादन हुन्छ।

खेती गर्न र बजार पाउन समस्या छैन। त्यसैले म अरू किसानलाई पनि परवल खेती गर्न सुझाव दिन्छु।’ अवस्थीले आफ्नो बारीमा अर्गानिक मलको मात्रै प्रयोग गर्दै आएकी छन्। अवस्थीले यो वर्षबाट थप एक बिघा जग्गामा परबल खेती सुरू गर्ने भएकी छन्। उनले भनिन्, ‘परवलको बजारमा माग राम्रो र मूल्य पनि बढी पाउने भएकाले व्यावसायिक परबल खेती गर्न अरुलाई समेत सहयोग गर्ने योजना छ।

No description available.

धनगढी–३ मा रहेको कामधेनु गौशालामा स्थापना कालदेखि नै आवद्ध अवस्थीले अहिले गौशाला सञ्चालनको मुख्य जिम्मेवारी लिएकी छन्। गौशाला अहिले आत्मनिर्भर भएको छ। कृषि उपजको उत्पादन र मागको अवस्था अध्ययन गरी व्यावसायिक कृषि गर्न सके आत्मनिर्भर हुन सकिने अवस्थीको बुझाई छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस